विराटनगरमा पसल सञ्चालकले चोरीको आरोप लगाएको रिसमा एक व्यापारीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हत्या आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–६ का ३७ वर्षीय अब्जर मियालाई पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका–६ महावीर रोडमा ब्याट्री पसल सञ्चालन गर्दै आएका भारतको उत्तर प्रदेशस्थित वाराणसी (बनारस) निवासी लालजीप्रसाद गुप्ताको हत्या भएको हो। प्रहरीले मियालाई मंगलबार साँझ पक्राउ गरेको जनाएको छ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका मियाले चोरीको आरोप लगाएको रिसमा गुप्ताको हत्या गरेको बयान दिएका छन्। प्रारम्भिक अनुसन्धानअनुसार गुप्ताले आफ्नो पसलको सामान चोरी गरेको आरोप मियामाथि लगाउँदै आएका थिए। यही विषयलाई लिएर मियाले गुप्ताको हत्या गर्ने योजना बनाएको खुलेको प्रहरी स्रोतले जनाएको छ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार शुक्रबार राति मियाले गुप्तालाई आफ्नो घरमा खाना खान बोलाएका थिए। सोही क्रममा दुवैले मदिरा सेवन गरेका थिए। मदिराको नशामा रहेका बेला मियाले सुरुमा बियरको बोतलले गुप्ताको टाउकोमा प्रहार गरेका थिए। त्यसपछि रडले प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी अधिकारीले बताएका छन्।
गुप्ताको हत्या गरेपछि शव व्यवस्थापनका लागि मियाले सिटी सफारी प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले गुप्ताको शव बोरामा हालेर सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा फालेको प्रहरी अनुसन्धानले देखाएको छ।
भारतको वाराणसी घर भएका गुप्ता लामो समयदेखि विराटनगरमा ब्याट्रीको कारोबार गर्दै आएका थिए। उनी विराटनगरमा एक्लै बस्दै आएका थिए।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस