प्रहरीले हेटौँडाबाट साढे ४२ केजी लागूऔषध गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पथलैया–हेटौँडा सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५, पिपलबोटमा भारतीय गाडी रोकेर जाँच गर्ने क्रममा गाँजा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारतको वैशाली जिल्लाको महुवा टोलका २५ वर्षीय बिर्जुकुमार राय र सोही ठाउँका २६ वर्षीय मन्जयकुमार राय रहेका छन्। बिर्जुकुमार गाडी चालक हुन् भने मन्जयकुमार सोही गाडीमा सवार थिए।
प्रहरीका अनुसार मंगलबार दिउँसो हेटौँडा बजारबाट पथलैयातर्फ जाँदै गरेको बीआरआई एपी ६०७३ नम्बरको गाडी जाँच गर्ने क्रममा चालकको सिटमुनि फल्स बटम बनाएर लुकाइएको अवस्थामा गाँजा फेला परेको हो।
फल्स बटमभित्र प्लास्टिकले प्याक गरिएका १९ पोका गाँजा भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीले गाँजासहित भारतीय गाडी र दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस