यस वर्षको दसैँ अवधिभर कोशी प्रदेशमा ४१३ वटा सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३६ जना गम्भीर र ७१० जना सामान्य घाइते भएका छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा भएका दुर्घटनामा १७ पुरुष र पाँच महिलाको मृत्यु भएको हो। मृतक महिलामध्ये दुई जना बालिका रहेका छन्।
गत वर्षको तुलनामा यस वर्ष दुर्घटनाको सङ्ख्या बढे पनि मृत्यु हुनेको सङ्ख्या घटेको छ। २०८२ सालको दसैँ अवधिमा २९१ वटा दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको थियो। ती दुर्घटनामा ५८ जना गम्भीर र ५०६ जना सामान्य घाइते भएका थिए।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक विकास थपलियाका अनुसार कोशी प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा बढी दुर्घटना मोरङमा भएका छन्।
मोरङमा दसैँ अवधिभर १७० वटा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २९१ जना घाइते भएका छन्।
त्यस्तै, सुनसरीमा ८७ वटा दुर्घटना हुँदा आठ पुरुष र दुई महिलासहित १० जनाको मृत्यु भएको छ। सुनसरीमा १५६ जना घाइते भएका छन्।
झापामा ८४ वटा दुर्घटना हुँदा चार जनाको मृत्यु र १३९ जना घाइते भएका छन्। उदयपुरमा ३३ वटा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ८९ जना घाइते भएका छन्।
पहाडी जिल्लाहरूमा पनि दुर्घटना भएका छन्। इलाममा १० वटा दुर्घटना हुँदा २० जना, पाँचथरमा सात दुर्घटनामा १२ जना, खोटाङमा सात दुर्घटनामा नौ जना, ओखलढुंगामा पाँच दुर्घटनामा सात जना, संखुवासभामा चार दुर्घटनामा छ जना र ताप्लेजुङमा तीन दुर्घटनामा छ जना घाइते भएका छन्।
प्रतिक्रिया दिनुहोस