रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट एक ६ वर्षीय बालकको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका छोरा रमेश नाथको ढुङ्गा प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार साँझ करिब ५ः३० बजे घरनजिकैको बाटोमा खेलिरहेका रमेशलाई सोही ठाउँका ३३ वर्षीय भक्तबहादुर नाथले एक्कासि टाउकोमा ढुङ्गा प्रहार गरेका थिए । भक्तबहादुरको मानसिक अवस्था ठीक नरहेको बताइएको छ ।
ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारका लागि स्थानीय पिपल स्वास्थ्य चौकी लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्याइएको थियो । उपचारकै क्रममा राति १० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
घटनापछि ढुङ्गा प्रहार गर्ने भक्तबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस