अमेरिकामा बसोबास गर्दै आएका व्यक्तिको नागरिकता र राष्ट्रिय परिचयपत्रको विवरण दुरुपयोग गरी काठमाडौंको जग्गा बिक्री गरेको आरोपमा १९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानपछि उनीहरूविरुद्ध मुद्दा दर्ता भएको हो। सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराका अनुसार मुद्दा चलाइएकामध्ये चार जना फरार छन् भने एक जना हाजिर जमानीमा छुटेका छन्। काठमाडौं महानगरपालिका–१३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धर हाजिर जमानीमा छुटेका व्यक्ति हुन्।
आरोपितहरूले अमेरिकामा बसोबास गर्दै आएका सुमित अग्रवाल (अडुकिया) को काठमाडौंको कालिमाटीस्थित एक रोपनी १३ आना जग्गा नक्कली कागजात तयार गरी बिक्री गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
अनुसन्धानअनुसार वास्तविक जग्गाधनी सुमित अग्रवालको नागरिकताको विवरण प्रयोग गरी नक्कली व्यक्ति खडा गरिएको थियो। उक्त व्यक्तिका नाममा २०८२ पुस ७ गते राष्ट्रिय परिचयपत्र नम्बर ६२७-०९४-८९७-० का लागि आवेदन दर्ता गरिएको थियो। त्यसपछि स्थायी लेखा नम्बर (प्यान) र बैंक खातासमेत खोलिएको एसएसपी जबराले बताए।
कीर्ते गरी जारी गरिएको राष्ट्रिय परिचयपत्रका आधारमा २०८२ माघ १५ गते आन्तरिक राजस्व विभागबाट प्यान नम्बर १५५५८९९४८ प्राप्त गरी ज्योति विकास बैंकमा खाता खोलिएको थियो।
त्यसपछि नक्कली नागरिकता र राष्ट्रिय परिचयपत्रका आधारमा काठमाडौं महानगरपालिका–१३ को वडा कार्यालयबाट जग्गाको श्रेस्ता अद्यावधिक तथा घरबाटो प्रमाणित गर्ने सिफारिस पत्र तयार पारिएको प्रहरीले जनाएको छ।
जग्गाधनी सुमितको काठमाडौंस्थित घरमा विश्वासपात्रका रूपमा बस्दै आएका राजन सिङ्घानियाले बिचौलियाहरू मुस्ताफा आलम, वकील चौधरी थारु र मीनकुमार रोकामार्फत दीपककुमार अग्रवाललाई उक्त जग्गा देखाएका थिए। यस प्रकरणमा दीपककुमार अग्रवाल जाहेरवाला रहेको प्रहरीले जनाएको छ।
राजन सिङ्घानियाले आफू वास्तविक जग्गाधनी सुमितका भाइ अमित अग्रवाल भएको र सुमित अमेरिकाबाट भारत आइसकेको भन्दै नक्कली व्यक्तिसँग फोन सम्पर्क गराएर दीपककुमारलाई विश्वासमा पारेको अनुसन्धानमा उल्लेख छ।
त्यसपछि २०८२ माघ २७ गते भूमि प्रशासन कार्यालय कलंकीमा अम्बे भवानी कानुनी तथा लेखापढी सेवा केन्द्रका सञ्चालक राजाराम थापामार्फत कीर्ते लिखत तयार पारिएको थियो। नक्कली जग्गाधनी उपस्थित गराएर जग्गा दीपककुमार अग्रवालको नाममा राजीनामा पास गराइएको प्रहरीको भनाइ छ।
उक्त कारोबारमा तीन प्रतिशत कमिसनबापत २६ लाख ८० हजार रुपैयाँको लेनदेन भएको अनुसन्धानमा उल्लेख छ। बिचौलियाहरू मुस्ताफा आलम, वकील चौधरी थारु र मीनकुमार रोकाले उक्त रकममध्ये क्रमशः ८ लाख ८० हजार र ८ लाख ३३ हजार रुपैयाँका दरले बाँडेको विवरण प्रहरीले सार्वजनिक गरेको छ।
प्रहरीले नक्कली पहिचान तथा सरकारी कागजात तयार पारेर जग्गा बिक्री गरिएको प्रकरणमा संलग्न व्यक्तिहरूको भूमिकाबारे अनुसन्धानपछि अदालतमा मुद्दा दर्ता गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस