२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

दसैंको मौका छोपेर धनकुटाबाट सुनसरी हुँदै भारततर्फ गाँजा तस्करी, १ हजार ५४५ किलो बरामद

मंगलवार, कार्तिक ४ २०८३१२:५७

दसैंको मौका छोपेर धनकुटाबाट सुनसरी हुँदै भारततर्फ प्रतिबन्धित लागुऔषध गाँजाको तस्करी भइरहेको पाइएको छ। तस्करहरूले धनकुटाका विभिन्न स्थानबाट गाँजा संकलन गरी सुनसरीका विभिन्न नाका तथा सडकमार्ग प्रयोग गर्दै भारततर्फ लैजाने गरेको पाइएको हो। चाडपर्वका बेला सुरक्षा निकाय व्यस्त हुने अवसरको फाइदा उठाउँदै तस्करहरूले गाँजा ओसारपसार तीव्र बनाएको स्थानीयको भनाइ छ।

स्थानीयका अनुसार धनकुटाको सहिदभूमि, मूलघाट, भेडेटार, आहाले र महाभारत क्षेत्रबाट गाँजा संकलन गरी विभिन्न मार्ग हुँदै सुनसरी ल्याउने गरिएको छ। गाँजा तस्करीमा धनकुटा प्रहरीको समेत मिलेमतो रहेको स्थानीयले आरोप लगाएका छन्। यद्यपि, उक्त आरोपको स्वतन्त्र पुष्टि भएको छैन।

सुनसरी प्रहरीले भने गाँजा तस्करी नियन्त्रणका लागि सक्रियता बढाएको जनाएको छ। घटस्थापनाको दिन असोज २५ गतेदेखि नवमीसम्म सुनसरीका विभिन्न स्थानबाट एक हजार ५४५ किलो गाँजा बरामद गरिएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पुष्पराज मल्लले जानकारी दिएका छन्। उनका अनुसार गाँजा तस्करीमा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् भने एम्बुलेन्ससहित तीनवटा सवारीसाधन नियन्त्रणमा लिइएको छ।

धनकुटाबाट सुनसरी हुँदै भारततर्फ गाँजा तस्करी गर्न विभिन्न सडक तथा नाका प्रयोग हुने गरेको स्थानीय बताउँछन्। भेडेटार हुँदै धरान, आहाले हुँदै विष्णुपादुका तथा महाभारत हुँदै बराहक्षेत्रका नाका प्रयोग गरी गाँजा ओसारपसार हुने गरेको उनीहरूको भनाइ छ। सुनसरीका विभिन्न स्थानमा प्रहरीले निगरानी बढाएपछि तस्करीमा प्रयोग भएका सवारीसाधन नियन्त्रणमा लिने र गाँजा बरामद गर्ने क्रम बढेको प्रहरीले जनाएको छ।

गाँजा नियन्त्रण अभियानमा प्रहरी सक्रिय रहे पनि तस्करका कारण सुरक्षा चुनौती थपिएको एसपी मल्लले बताए। उनका अनुसार तस्करीमा संलग्न व्यक्तिहरूले सवारीसाधन तीव्र गतिमा चलाउने, प्रहरी पोस्टमा क्षति पुर्‍याउने तथा सडक दुर्घटना निम्त्याउन सक्ने जोखिम छ। यसले सडकमा खटिएका प्रहरी कर्मचारीको सुरक्षासमेत जोखिममा पारेको प्रहरीको भनाइ छ।

पछिल्लो समय गाँजा खेतीबाट बढी आम्दानी हुने आशामा धनकुटाका केही किसान परम्परागत खेती छाडेर गाँजा खेतीतर्फ आकर्षित भएको स्थानीयले बताएका छन्। किसानले उत्पादन गरेको गाँजा तस्करहरूले खरिद गरी विभिन्न मार्ग हुँदै सुनसरीबाट भारत पुर्‍याउने गरेको उनीहरूको दाबी छ।

स्थानीयले धनकुटामा गाँजा खेतीको वास्तविक अवस्था, उत्पादनको परिमाण तथा तस्करीमा संलग्न सञ्जालबारे विस्तृत अनुसन्धान गर्न माग गरेका छन्। गाँजा खेती र तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायले प्रभावकारी निगरानी बढाउनुपर्ने उनीहरूको भनाइ छ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij