पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँलगायतका चाडपर्वका अवसरमा हुन सक्ने चोरी, ठगी, लुटपाट तथा अन्य आपराधिक गतिविधिबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ।
‘सभ्य बनौँ, सुरक्षित रहौँ, हर्षोल्लासका साथ चाडपर्व मनाऔँ’ भन्ने सन्देशसहित प्रहरीले आपसी सद्भाव कायम राख्दै जिम्मेवार र सुरक्षित तरिकाले चाडपर्व मनाउन अनुरोध गरेको हो।
चाडपर्वका बेला घर छाडेर बाहिर जाने, बजारमा किनमेल गर्ने तथा सार्वजनिक स्थानमा भीडभाड बढ्ने भएकाले सुरक्षा सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ। गण्डकी प्रदेश प्रहरी कार्यालयले चाडपर्वलाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउन सार्वजनिक अपिल जारी गर्दै घर छाडेर बाहिर जाँदा झ्यालढोका राम्ररी बन्द गर्न, छिमेकीलाई घरको निगरानी गरिदिन अनुरोध गर्न तथा घर र टोलको सुरक्षाका लागि सीसीटीभी र आपत्कालीन साइरनजस्ता उपाय अपनाउन सुझाव दिएको छ।
मेलापर्व तथा भीडभाड हुने स्थानमा गरगहना, मोबाइल र नगद चोरी हुन सक्ने भन्दै प्रहरीले आफ्ना सामानको सुरक्षा गर्न र पाकेटमारीबाट जोगिन पनि आग्रह गरेको छ। रातिको समयमा घरबाहिरको बत्ती बाल्ने तथा झ्यालढोका राम्ररी बन्द गरेर मात्र सुत्न अनुरोध गरिएको छ। दियो, मैनबत्ती तथा अन्य आगोका स्रोत बालेर छाड्दा आगलागी हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन प्रहरीले सचेत गराएको छ।
त्यस्तै, बैंकको चेक, एटीएम कार्ड र ओटीपी कोड अरूलाई प्रयोग गर्न नदिन, यात्राका क्रममा अपरिचित व्यक्तिसँग अनावश्यक घुलमिल नगर्न तथा उनीहरूले दिएको खानेकुरा नखान प्रहरीले आग्रह गरेको छ। सुन तथा डलर साट्ने नाममा हुन सक्ने ठगीबाट जोगिन र चाडपर्वका नाममा जुवा तथा तास खेल्ने वा खेलाउने गतिविधिबाट टाढा रहन पनि अपिलमा उल्लेख छ।
पटका, भुइँचम्पा र आतिसबाजीलगायत विस्फोटक पदार्थको प्रयोगले मानवीय, भौतिक तथा वातावरणीय क्षति पुर्याउन सक्ने भन्दै प्रहरीले यस्ता गतिविधि नगर्न अनुरोध गरेको छ। चर्को आवाजमा लाउडस्पिकर बजाएर ध्वनि प्रदूषण नगर्न, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन तथा क्षमताभन्दा बढी यात्रु र मालसामान नबोक्न पनि सचेत गराइएको छ।
मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने, उच्छृङ्खल गतिविधि गर्ने तथा चन्दा, भेटी वा अन्य सहयोगका नाममा अनिच्छित रूपमा रकम माग्ने काम नगर्न पनि प्रहरीले आग्रह गरेको छ।
कुनै समस्या परेमा नेपाल प्रहरीको सम्पर्क नम्बर १०० र ट्राफिक प्रहरीको नम्बर १०३ मा सम्पर्क गर्न सकिने गण्डकी प्रदेश प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस