सुनसरी प्रहरीले ९१५ किलोभन्दा बढी प्रतिबन्धित लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले इनरुवा नगरपालिका–४ स्थित ज्ञानोदय टोलमा रहेको एक घरबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।
आइतबार बिहान १ः३० बजे गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका–४ स्थित हनुमान मन्दिर नजिकै बुलबुल यादवको घरमा खानतलासी गरेको थियो। सो क्रममा घरको कोठामा लुकाइछिपाइ राखिएको ९१५ किलो ६८० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले गाँजासँगै कोशी प्रदेश १–०२–००१ प ९१९९ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।
घटनामा संलग्न रहेको आरोपमा इनरुवा नगरपालिका–४ का ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव, ३० वर्षीय आशिष यादव र दुहबी नगरपालिका–१० का २२ वर्षीय कुन्दन यादवलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र खड्काले चारै जनालाई गाँजा र मोटरसाइकलसहित नियन्त्रणमा लिएर कार्यालयमा ल्याइएको जानकारी दिए। पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको उनले बताए।
स्थानीयका अनुसार धनकुटामा उत्पादन हुने गाँजा सुनसरी हुँदै भारतीय बजारसम्म पुर्याउने गरिएको छ।
प्रतिक्रिया दिनुहोस