जबरजस्ती करणी मुद्दामा सजाय भुक्तान गरिरहेका क्रममा नख्खु कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर गाउँपालिका–१ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२, सुन्दरीजल बस्दै आएका ३० वर्षीय राज सुन्दर तामाङ रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरिएको जनाएको छ।
प्रहरीका अनुसार २०८२ भदौ २४ गते नख्खु कारागारमा भएको घटनाका क्रममा तामाङ फरार भएका थिए। उनी जबरजस्ती करणी मुद्दामा ललितपुरस्थित नख्खु कारागारमा कैद भुक्तान गरिरहेका थिए।
प्रहरी प्रभाग सुन्दरीजलबाट खटिएको विशेष प्रहरी टोलीले तामाङलाई शनिबार बिहान ११ बजे गोकर्णेश्वर नगरपालिका–२, सुन्दरीजल क्षेत्रबाट फेला पारी नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि असोज ३१ गते नै पुनः नख्खु कारागार, ललितपुर पठाइएको छ।
प्रतिक्रिया दिनुहोस