काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि दक्षिण सुडानमा खटिएको नेपाली शान्ति सैनिकको टोली परिवर्तन भएको छ।
श्री नयाँ गोरख गण (शान्ति सेना) को १५औँ डफ्फाको स्थानमा श्री नारायणदल गण (शान्ति सेना) को १६औँ डफ्फा खटिएको हो।
नयाँ डफ्फाका २०३ जना शान्ति सैनिकको दोस्रो तथा अन्तिम टोली असोज २८ गते मिसन क्षेत्रमा प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ। सोही दिन मिसनमा आफ्नो कार्यकाल पूरा गरेका २०४ जना नेपाली शान्ति सैनिक स्वदेश फर्किएका छन्।
हाल दक्षिण सुडानस्थित उक्त शान्ति मिसनमा नेपाली सेनाका एक हजार ६९ जना शान्ति सैनिक कार्यरत छन्।
संयुक्त राष्ट्रसंघको शान्ति स्थापनासम्बन्धी अभियानमा नेपाली सेनाले विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न योगदान दिँदै आएको छ।
प्रतिक्रिया दिनुहोस