२०८३, कार्तिक १ गते

शनिवार, कार्तिक १ गते २०८३

न्यायाधीश रणबहादुर बम हत्या प्रकरणका फरार दोषी बाबु थापा सर्लाहीबाट पक्राउ

बिहिवार, आश्विन २९ २०८३११:०७

सर्लाही । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणमा दोषी ठहर भएका फरार प्रतिवादी बाबु थापा पक्राउ परेका छन् । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थापालाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बुधबार राति सर्लाहीको बागमती नगरपालिका–स्थित मिलनचोकमा रहेको आफ्नै घरबाट थापा पक्राउ परेका हुन् । सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रनाथ पौडेलले थापा घर आएको सूचनाका आधारमा पक्राउ गर्न सफल भएको जानकारी दिए ।

थापा पक्राउ पर्दा उनको साथबाट दुई थान पेस्तोल, तीनवटा म्यागजिन र १५ राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । उनीविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतमा मुद्दा प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

थापा गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका थिए । त्यसपछि उनी नेपाल र भारतका विभिन्न स्थानमा लुकेर बस्दै आएको प्रहरीको भनाइ छ ।

भेष बदलेर बस्ने तथा आवश्यक पर्दा अरूको मोबाइल प्रयोग गरी सम्पर्क गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उनको खोजी गरिरहेको थियो ।

न्यायाधीश बमको हत्या प्रकरणमा दोषी ठहर भएका थापा यसअघि पनि लामो खोजीपछि पक्राउ परेका थिए । प्रहरीले दुई वर्ष सात महिनासम्म निगरानी र खोजी गरेपछि २०७१ सालमा उनलाई पक्राउ गरी अदालतमा पेस गरेको थियो ।

त्यतिबेला उनको पक्राउलाई प्रहरीको ठूलो उपलब्धिका रूपमा लिइएको थियो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई सार्वजनिक गर्दा तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल स्वयं पत्रकार सम्मेलनमा उपस्थित भएका थिए । अर्यालले उक्त पक्राउलाई प्रहरीको घाँटीमा अड्किएको काँडा निकालिएसरह भएको बताएका थिए ।

थापा चुरेभावर राष्ट्रिय पार्टीका तत्कालीन उपाध्यक्ष थिए । पार्टीभित्रको नेतृत्व विवाद र सर्वोच्च अदालतको अन्तरिम आदेशसँग जोडिएको न्यायाधीश बम हत्या प्रकरणमा दोषी ठहर भएपछि उनी जन्मकैदको सजाय भुक्तान गरिरहेका थिए ।

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको २०६९ जेठ १८ गते ललितपुरको यूएन पार्क क्षेत्रमा गोली हानी हत्या गरिएको थियो । बंगलामुखी मन्दिरमा दर्शन गरेर फर्कने क्रममा उनको गाडी रोकेर गोली प्रहार गरिएको थियो ।

प्रहरी अनुसन्धानअनुसार चुरेभावर राष्ट्रिय पार्टीभित्रको नेतृत्व विवाद र सर्वोच्च अदालतको अन्तरिम आदेश हत्याको पृष्ठभूमिसँग जोडिएका थिए ।

पार्टीको नेतृत्वसम्बन्धी विवाद निर्वाचन आयोगसम्म पुगेपछि आयोगले केशव मैनालीको सट्टा बाबु थापा नेतृत्वको समूहलाई वैधानिकता दिएको थियो । उक्त निर्णयविरुद्ध मैनाली सर्वोच्च अदालत पुगेका थिए । त्यसपछि न्यायाधीश बमको एकल इजलासले थापा समूहलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

अनुसन्धानमा अदालतको आदेशले आफ्नो राजनीतिक भविष्य समाप्त हुने ठानेपछि थापाले हत्याको योजना बनाएको निष्कर्ष निकालिएको थियो । तत्कालीन अनुसन्धान अधिकारीहरूले पनि पार्टीभित्रको विवाद र अदालतको आदेशलाई हत्याको प्रमुख कारणका रूपमा व्याख्या गरेका थिए ।

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएपछि प्रहरीको खोजीमा रहेका थापा अन्ततः आफ्नै घरबाट पक्राउ परेका छन् । उनको पक्राउसँगै न्यायाधीश बम हत्या प्रकरणमा दोषी ठहर भएका फरार व्यक्तिलाई पुनः कानुनी प्रक्रियामा ल्याउने बाटो खुलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij