काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको करोडौँ रुपैयाँको ठगीकै शैलीमा अहिले इजरायल पठाउने नाममा पनि ठगी भएको खुलेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका क्रममा मन्त्रिपरिषद्को निर्णयजस्तो देखिने नक्कली कागजात बनाएर विश्वास दिलाउँदै रकम असुलिएको खुलेको हो।
सीआईबीका अनुसार नेपाल सरकार र इजरायल सरकारबीच भएको सरकार–सरकार (जीटुजी) सम्झौताअन्तर्गत केयरगिभरका रूपमा इजरायल पठाउने प्रक्रियामा रहेका परीक्षार्थीलाई लक्षित गरी ठगी गरिएको आरोप छ। सन् २०२४ मा सञ्चालित केयरगिभर परीक्षामा सहभागीमध्ये प्रतीक्षा सूचीमा रहेका व्यक्तिलाई मन्त्रिपरिषद्बाट विशेष निर्णय गराएर इजरायल पठाइदिने भन्दै रकम उठाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनमा नक्कली नाम थपेर अमेरिका लैजाने भन्दै ठगी गरिएको विषय सार्वजनिक भएको थियो। अहिलेको इजरायल प्रकरणमा पनि मन्त्रिपरिषद्को निर्णय भएको भन्दै नक्कली कागजात तयार पारेर पीडितलाई विश्वासमा लिने उस्तै शैली अपनाइएको सीआईबीका एक अनुसन्धान अधिकृतले बताएका छन्।
सीआईबीका अनुसार पक्राउ परेका शिवराम श्रेष्ठ र ज्ञानबहादुर कार्कीमाथि मन्त्रिपरिषद्को निर्णयजस्तो देखिने नक्कली कागजात तयार पारेको आरोप छ। उनीहरूलाई मुलपानी क्षेत्रबाट पक्राउ गरी अनुसन्धान गरिएको अनुसन्धान अधिकृतले बताएका छन्।
प्रहरीका अनुसार उनीहरूले भारतीय मूलको जस्तो देखिने एक व्यक्तिले मन्त्रिपरिषद्को निर्णयजस्तो देखिने कागजात बनाउन लगाएको बयान दिएका छन्। उक्त काम गरेबापत केही रकम बुझेको आरोपसमेत उनीहरूमाथि छ। यस विषयमा अनुसन्धान जारी रहेकाले आरोपको अन्तिम पुष्टि हुन बाँकी छ।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार यो समूहले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नामसमेत लिएर पीडितलाई विश्वासमा पारेको थियो। मन्त्रिपरिषद्बाट विशेष निर्णय गराएर तत्काल इजरायल पठाइदिने भन्दै प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँसम्म उठाइएको आरोप छ।
सन् २०२४ मा सञ्चालित केयरगिभर परीक्षामा ३ हजार ४६१ जना उत्तीर्ण भएका थिए। तीमध्ये १ हजार १५२ जना प्रतीक्षा सूचीमा रहेको विवरणका आधारमा १५६ जनालाई विशेष निर्णय गराएर इजरायल पठाइदिने भन्दै नक्कली कागजात देखाइएको बताइएको छ।
यसरी वैदेशिक रोजगारीको आशा देखाएर सरकारी निर्णय र उच्च पदस्थ व्यक्तिको नाम दुरुपयोग गरी रकम असुलिएको आरोपमाथि सीआईबीले अनुसन्धान गरिरहेको छ।
यो प्रकरणमा सुरुमा विमल पराजुलीका नामबाट हेलो सरकारमा उजुरी परेको थियो। हेलो सरकारको चलानी नम्बर १५८० को पत्रमार्फत उक्त उजुरी सीआईबीमा पठाइएको थियो। त्यसपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको हो।
यस प्रकरणमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्काविरुद्ध पनि उजुरी परेको थियो। सीआईबीका अनुसार अनुसन्धानका क्रममा प्रमाण भेटिएपछि उनलाई पक्राउ गरिएको हो। प्रहरी अधिकारीहरूले खड्का र कांग्रेसकै अर्का नेता चौलागाईंबीच इजरायल प्रकरणमा सम्बन्ध देखिएको दाबी गरेका छन्।
यद्यपि, काठमाडौं जिल्ला अदालतले सोमबार खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ। चौलागाईंलाई भने प्रहरीले यसअघि नै पक्राउ गरेको थियो।
इजरायल रोजगारीको अवसर पाउने आशामा रहेका व्यक्तिलाई लक्षित गरी सरकारी निर्णयको नक्कल, उच्च पदस्थ व्यक्तिको नाम र विशेष पहुँचको आश्वासन प्रयोग गरेर ठगी गरिएको आरोपले वैदेशिक रोजगारीका नाममा हुने संगठित ठगीको गम्भीरता फेरि उजागर गरेको छ। सीआईबीको अनुसन्धानले यस प्रकरणमा संलग्न व्यक्तिहरूको भूमिका, रकमको कारोबार र ठगीको वास्तविक दायरा थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस