जनकपुरधाम । महोत्तरीको विवेक सरदार हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीले तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न र एक जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
अदालतको आदेशअनुसार बलवा नगरपालिका–७, बनौटाका अशोक ठाकुर, उनकी बुहारी सोनु ठाकुर र ज्वाइँ महोत्तरी गाउँपालिका–५ का सियाराम ठाकुरलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिइएको हो । अशोककी श्रीमती रामकली देवीलाई भने दुई लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ ।
मृतक विवेकका बुबा अशोककुमार बातर सरदारले दिएको जाहेरीका आधारमा दर्ता भएको कर्तव्य ज्यान मुद्दामा न्यायाधीश सञ्जीव पोखरेलको इजलासले उक्त आदेश गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी विश्वम्भरनाथ साहका अनुसार धरौटी रकम बुझाउन नसकेपछि रामकली देवीसमेत चारै जनालाई बिहीबार साँझ कारागार चलान गरिएको छ ।
गत भदौ २६ गते महोत्तरीको बलवा नगरपालिका–७, बनौटास्थित अशोक ठाकुरको घरको शौचालयको सेफ्टी ट्यांकीमा भंगहा नगरपालिका–६ का २४ वर्षीय विवेक सरदारको शव टुक्राटुक्रा अवस्थामा फेला परेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार अशोक ठाकुरकी बुहारी सोनु ठाकुरसँग प्रेम सम्बन्ध रहेको खुलेपछि विवेकलाई भदौ १५ गते घरमा बोलाएर हत्या गरिएको थियो । हत्यापछि शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्यांकीमा राखी माथिबाट पलास्टर गरिएको अनुसन्धानमा खुलेको थियो । घटनाको रहस्य भने खोजतलासका क्रममा ११ दिनपछि खुलेको थियो ।
प्रहरीका अनुसार हत्या योजनामा संलग्न रहेको आशङ्का गरिएका सोनुका श्रीमान् जितेन्द्र ठाकुर विदेशबाट गुपचुप नेपाल आएका थिए । उनी घटनापछि फरार छन् ।
प्रतिक्रिया दिनुहोस