२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

भावुक भिडियो पोस्टपछि सम्पर्कविहीन भएकी शोभा पाठकलाई प्रहरीले सकुशल उद्धार गर्‍यो

आइतवार, जेठ १७ २०८३१०:४३

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा भावुक भिडियो पोस्ट गरेपछि सम्पर्कविहीन भएकी शोभा पाठकलाई प्रहरीले सकुशल उद्धार गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पाठकलाई आइतबार बिहान काठमाडौंको बालाजु–वनस्थली क्षेत्रबाट फेला पारिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले पाठकलाई बिहान करिब ९:१५ बजे उद्धार गरिएको जानकारी दिए। उद्धारपछि उनको स्वास्थ्य अवस्था तथा मानसिक अवस्थाबारे आवश्यक परामर्शका लागि मनमोहन अस्पताल लगिएको प्रहरीले जनाएको छ।

शनिबार राति पाठकले आफ्नो फेसबुक अकाउन्टमा भावुक गीतको पृष्ठभूमिमा रुँदै गरेको भिडियो सार्वजनिक गरेकी थिइन्। उक्त भिडियो सार्वजनिक भएपछि उनीसँग सम्पर्क हुन नसकेकाले परिवार र शुभेच्छुकहरू चिन्तित बनेका थिए। त्यसपछि प्रहरीले खोजी कार्य तीव्र बनाएको थियो।

भिडियोमा ‘ए साथी सम्झनामा आऊ है, तिम्रो लागि संसारै रोयो तर तिमी नरोई नरोई जाऊ है’ बोलको गीत राखिएको थियो, जसले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबीच विभिन्न अड्कलबाजी र चासो बढाएको थियो।

प्रहरीले पाठकका परिवारका सदस्यलाई समेत सम्पर्कमा ल्याएको जनाएको छ। घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

एसपी भट्टराईका अनुसार पाठकले किन उक्त प्रकारको भिडियो पोस्ट गरिन् र त्यसपछिका गतिविधि के थिए भन्ने विषयमा थप बुझ्ने काम भइरहेको छ। “उहाँले किन त्यस्तो पोस्ट गर्नुभयो भन्ने विषयमा हामी अनुसन्धान गरिरहेका छौं,” उनले भने।

पाठक पछिल्लो समय नेकपा (एमाले) का सचिव महेश बस्नेतलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै सार्वजनिक रूपमा आवाज उठाउँदै आएकी थिइन्। यद्यपि, हालको घटनाको कारण र उक्त विषयबीच कुनै सम्बन्ध छ वा छैन भन्नेबारे प्रहरीले औपचारिक रूपमा केही जनाएको छैन।

प्रहरीले सामाजिक सञ्जालमा भावनात्मक वा संवेदनशील सामग्री पोस्ट गर्दा त्यसले व्यक्ति, परिवार तथा समाजमा पर्न सक्ने प्रभावबारे सचेत रहन आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij