काठमाडौं । प्रभावशाली ‘बिचौलिया’का रूपमा परिचित दीपक भट्टविरुद्ध अवैध सम्पत्ति शुद्धीकरणको आरोपमा पाँच अर्ब रुपैयाँभन्दा बढी बिगो दाबीसहित मुद्दा दायर गर्ने अन्तिम तयारी गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अभियोगपत्र तयार गरिसकेको र सरकारी वकिल कार्यालयमार्फत विशेष अदालतमा मुद्दा दायर गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।
अनुसन्धानका क्रममा भट्टले आफन्तका नाममा विभिन्न कम्पनी दर्ता गरी तह–तहमा रकम घुमाएर अन्ततः आफ्नै खातामा ल्याउने संरचना बनाएको खुलासा भएको छ। शंकास्पद बैंकिङ कारोबारको आधारमा प्रारम्भिक अनुसन्धान नेपाल राष्ट्र बैंकले अघि बढाएको थियो। पछि थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको थियो।
भट्टविरुद्ध बिमा ऐन, धितोपत्र ऐन, राजस्व चुहावट ऐन तथा बैंकिङ कसुरसम्बन्धी प्रावधानअन्तर्गत कारबाहीको तयारी गरिएको छ। उनीसहित २० भन्दा बढी व्यक्तिलाई प्रतिवादी बनाउने तयारी गरिएको छ।
भाग्न सक्ने आशंकालाई मध्यनजर गर्दै विभागले अध्यागमन विभागसँग समन्वय गरी भट्टको राहदानीसमेत रोक्का गराइसकेको छ। विभागले एक वर्षभन्दा लामो समयदेखि हिमालयन रि–इन्स्योरेन्ससँग सम्बन्धित आर्थिक कारोबारको विषयमा अनुसन्धान गर्दै आएको थियो र केही समयअघि भट्टसँग बयानसमेत लिइएको थियो।
अनुसन्धानले हिमालयन रि–इन्स्योरेन्सको रकम गैरकानुनी ढंगले विभिन्न १८ कम्पनीमार्फत परिचालन गरिएको देखाएको छ। ती सबै कम्पनीमा भट्टको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहेको दाबी गरिएको छ। घटनामा कम्पनीका केही बोर्ड सदस्यहरू समेत संलग्न रहेको आशंकामा उनीहरूमाथि पनि अनुसन्धान जारी रहेको जनाइएको छ।
यसअघि पनि भट्टविरुद्ध अनुसन्धान सुरु भए तापनि राजनीतिक दबाबका कारण प्रक्रिया प्रभावित भएको आरोप लाग्दै आएको छ। तर पछिल्लो समय नागरिक तहबाट उठेको दबाब र उजुरीका आधारमा अनुसन्धान पुनः सक्रिय बनाइएको हो।
राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले भट्ट र उनको परिवारसँग सम्बन्धित खाताहरूमा अस्वाभाविक कारोबार फेला पारेपछि प्रकरण सार्वजनिक भएको हो। छोटो अवधिमै करोडौँ रुपैयाँ बराबरको रकम आवतजावत भएको, स्रोत नखुलेको पुँजी वृद्धि भएको तथा कम्पनीहरूबीचको कारोबार अपारदर्शी देखिएको प्रतिवेदनमा उल्लेख छ।
भट्टले भने आफूले वैधानिक व्यवसायमार्फत आम्दानी गरेको दाबी गर्दै आएका छन्। यद्यपि, अनुसन्धान निकायले प्राप्त प्रमाणका आधारमा उनीविरुद्ध मुद्दा दायर गर्ने तयारीलाई तीव्र बनाएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस