बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ विजयी तथा समानुपातिकतर्फ पहिलो बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिल्लामा आफ्ना उम्मेदवारले पाएको मतभन्दा दलले बढी मत प्राप्त गरेको देखिएको छ।
जिल्लाका तीनवटै क्षेत्रमा रास्वपाका प्रत्यक्षतर्फका उम्मेदवारले कुल एक लाख नौ हजार ५४४ मत प्राप्त गरेका छन्। तर समानुपातिकतर्फ भने उक्त दलले एक लाख १३ हजार ६२८ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ। यसरी हेर्दा उम्मेदवारले पाएको मतभन्दा दलले चार हजार ८४ मत बढी प्राप्त गरेको देखिन्छ।
जिल्लामा भने नेपाली कांग्रेस र नेकपा एमालेका हकमा दलले पाएकोभन्दा उम्मेदवारले पाएको मत बढी देखिएको छ। नेपाली कांग्रेसले समानुपातिकतर्फ २८ हजार ६५६ मत पाएकोमा प्रत्यक्षतर्फ उसका उम्मेदवारहरूले ३० हजार ४९४ मत प्राप्त गरेका छन्।
त्यस्तै नेकपा एमालेले समानुपातिकतर्फ २४ हजार १९९ मत पाएकोमा प्रत्यक्षतर्फ उसका उम्मेदवारले २५ हजार ८२८ मत प्राप्त गरेका छन्।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाली कम्युनिष्ट पार्टीका हकमा भने उम्मेदवारभन्दा दलले बढी मत पाएका छन्। राप्रपाका उम्मेदवारले प्रत्यक्षतर्फ चार हजार २७ मत प्राप्त गर्दा समानुपातिकतर्फ दलले छ हजार ४६६ मत पाएको छ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारले प्रत्यक्षतर्फ पाँच हजार २११ मत पाएकोमा समानुपातिकतर्फ दलले पाँच हजार ७६३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस