रौतहट । रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरस्थित मौलापुर–शीतलपुर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
आइतबार बिहान करिब १ बजे मौलापुरबाट शीतलपुरतर्फ जाँदै गरेको बा ३७ प ९९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीनै जना घाइते भएका थिए।
दुर्घटनामा फतुवा विजयपुर नगरपालिका–२ शीतलपुर निवासी ५३ वर्षीय मोटरसाइकल चालक त्रिविक्रम ठाकुर, उनकी करिब ७० वर्षीया आमा सोमरिया देवी ठाकुर र करिब २८ वर्षीया बुहारी सीमा कुमारी ठाकुर घाइते भएका थिए।
घाइते तीनै जनालाई उपचारका लागि बाराको कलैयास्थित राजलक्ष्मी प्रा.लि. अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा आइतबार बिहान करिब ५ बजे सोमरिया देवीको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका त्रिविक्रम र सीमा कुमारीको उपचार भइरहेको छ। मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको प्रहरीले जनाएको छ।
प्रारम्भिक विवरणअनुसार मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय मौलापुरले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस