काठमाडौं । अमेरिकाको टेक्सस राज्यमा भइरहेको सिनेट चुनावमा रिपब्लिकन उम्मेदवार केन पाक्सटन पराजित हुन सक्ने आशङ्का बढेसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै पार्टीका नेताहरूमाथि दोषारोपण सुरु गरेका छन्।
सन् १९८८ यता टेक्ससबाट कुनै पनि डेमोक्र्याट उम्मेदवार सिनेटमा विजयी नभएको इतिहास छ। यस्तो अवस्थामा यसपटक रिपब्लिकन उम्मेदवार पराजित भए त्यसको जिम्मेवारी पार्टीभित्रकै नेताहरूले लिनुपर्ने ट्रम्पको दाबी छ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’ मा आक्रोश व्यक्त गर्दै केन पाक्सटन पराजित भए त्यसको दोष जोन कोर्निन र कार्ल रोभजस्ता नेतामाथि जाने बताएका छन्।
उनले लेखेका छन्, ‘यदि केन पाक्सटन पराजित भए भने, यो जोन कोर्निन र कार्ल रोभजस्ता कमजोर र निष्प्रभावी राजनीतिक ढोँगीहरूका कारण हुनेछ, जसले पाक्सटनलाई जिताउन गाह्रो बनाउन सम्भव भएसम्मका सबै हथकण्डा अपनाए।’
दुई वर्षअघि टेक्ससमा ट्रम्पले १४ प्रतिशत मतान्तरले विजय हासिल गरेका थिए। तर यसपटक सिनेट चुनावमा रिपब्लिकन पार्टीभित्रको आन्तरिक विवादले परम्परागत रूपमा बलियो मानिएको क्षेत्रमा समेत चुनौती थपिएको छ।
संघीय निर्वाचन आयोगको वित्तीय प्रतिवेदनअनुसार उद्योगपति एलन मस्कले केन पाक्सटनलाई जिताउन ठूलो आर्थिक सहयोग गरेका छन्।
सेप्टेम्बरमा मस्कले सिनेट रिपब्लिकनको मुख्य सुपर पीएसीलाई दुई कारोबारमार्फत १५ करोड ८० लाख अमेरिकी डलर प्रदान गरेको विवरणमा उल्लेख छ। त्यसको भोलिपल्ट उक्त संस्थाले टेक्ससमा पाक्सटनको जितका लागि बनाइएको विशेष सुपर पीएसीलाई ठूलो रकम हस्तान्तरण गरेको जनाइएको छ।
‘एडइम्प्याक्ट’को तथ्याङ्कअनुसार टेक्सस सिनेट चुनावमा हालसम्म विज्ञापनमा मात्रै ५० करोड अमेरिकी डलरभन्दा बढी खर्च भइसकेको छ। रिपब्लिकन नेताहरूले प्राथमिक चुनावमा जोन कोर्निन पराजित भए सिनेटको यो सिट जोगाउन पार्टीलाई निकै महँगो पर्ने चेतावनी दिएका थिए।
टेक्ससमा सार्वजनिक भएको एक नयाँ जनमत सर्वेक्षणअनुसार डेमोक्र्याट उम्मेदवार जेम्स टालारिकोले ५० प्रतिशत मतसहित केन पाक्सटन (४७ प्रतिशत) माथि झिनो अग्रता कायम राखेका छन्।
टालारिकोले तेस्रो त्रैमासिकमा ६ करोड ४० लाख अमेरिकी डलर चन्दा सङ्कलन गरेको विवरणले पनि उनको अभियानलाई थप बलियो बनाएको छ। उनका ९७ प्रतिशत दाताले १०० डलरभन्दा कम रकम सहयोग गरेको जनाइएको छ।
सेनेटर बर्नार्ड मोरेनोले टालारिकोको आर्थिक सङ्कलनप्रति आश्चर्य व्यक्त गर्दै एकै त्रैमासिकमा ६ करोड ४० लाख डलर जुटाउनु असाधारण भएको टिप्पणी गरेका छन्।
यसको तुलनामा पाक्सटनले १ करोड ८० लाख अमेरिकी डलर मात्रै सङ्कलन गरेको समाचारमा उल्लेख छ।
रिपब्लिकन पार्टीभित्रको आन्तरिक विवाद, ट्रम्पको दोषारोपण र डेमोक्र्याट उम्मेदवारको आर्थिक तथा जनसम्पर्क अभियानका कारण टेक्ससको सिनेट चुनाव अमेरिकी राजनीतिमा विशेष चासोको विषय बनेको छ। चुनावको नतिजाले रिपब्लिकन पार्टीको राजनीतिक प्रभाव र ट्रम्पको नेतृत्वप्रतिको समर्थनबारे पनि महत्त्वपूर्ण सङ्केत दिन सक्नेछ।
प्रतिक्रिया दिनुहोस