हुम्ला । असोज १० र ११ गते परेको हिमपातका कारण हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित लिमि क्षेत्रमा करिब ३०० देखि ३५० वटासम्म याक, झोपा र घोडा पाटनमै थुनिएका छन्। सडकमा जमेको हिउँ पन्छाउन नसक्दा पशुचौपायाको अवस्था बुझ्नसमेत कठिन भएको छ।
नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङका अनुसार हिमपात हुनुअघि चराउन पाटनमा लगिएका पशुचौपाया असोज १० गतेदेखि परेको हिउँका कारण उतै थुनिएका हुन्। ती पशुचौपाया जीवित छन् वा मरिसकेका छन् भन्नेबारे अहिलेसम्म यकिन जानकारी प्राप्त हुन नसकेको उनले बताए।
लिमि क्षेत्रका तिल, हल्जी र जाँङ गाउँका स्थानीयवासीका पशुचौपाया थुनिएको जानकारी दिँदै वडाध्यक्ष तामाङले टाक्चीदेखि माथिल्लो क्षेत्रमा पुग्न दुई–तीन पटक प्रयास गरिए पनि सडकमा जमेको हिउँका कारण सम्भव नभएको बताए। पशुचौपायाको अवस्था बुझ्न तथा सम्भावित उद्धारका लागि शनिबार पुनः त्यसतर्फ जाने तयारी गरिएको उनले जानकारी दिए।
पशुचौपाया थुनिएपछि स्थानीयवासीले उद्धारका लागि गाउँपालिकासँग आग्रह गरेका छन्। तर, हिमपातका कारण सडक अवरुद्ध हुँदा उद्धार कार्यमा समस्या भइरहेको छ।
यसैबीच, नाम्खा गाउँपालिकाले अवरुद्ध सडक खुलाउन हिउँ पन्छाउने कार्यका लागि आवश्यक दरभाउपत्र पेस गर्न सार्वजनिक सूचना जारी गरेको छ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाहीका अनुसार सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४५ को उपनियम (१) बमोजिम विशेष परिस्थितिमा ग्याउखोला र च्याक्पालुङ क्षेत्रमा रहेका पशुवस्तुको तत्काल उद्धार गर्नुपर्ने अवस्था आएको छ। त्यसैले सम्बन्धित निर्माण व्यवसायीलाई आवश्यक कागजातसहित दरभाउपत्र पेस गर्न अनुरोध गरिएको उनले बताए।
हिमपातका कारण सडक अवरुद्ध भएपछि पशुचौपायाको अवस्था अज्ञात रहनुका साथै उद्धारमा ढिलाइ हुने जोखिम बढेको छ।
प्रतिक्रिया दिनुहोस