म्याग्दी । कालीगण्डकी नदीको बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२० केभी क्षमताको कालीगण्डकी कोरिडोरअन्तर्गत दाना–खुर्कोट प्रसारणलाइन मर्मत गरिएको छ। क्यानडाको प्रविधिमा आधारित अस्थायी टावर निर्माण गरी विद्युत् आपूर्ति पुनः सञ्चालनमा ल्याइएको हो।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवा र वडा नं. ६ धिरच्याङमा प्रसारणलाइनका तीनवटा टावरमा क्षति पुगेपछि म्याग्दी र मुस्ताङका जलविद्युत् आयोजनाबाट उत्पादित १७६ मेगावाट विद्युत् असोज ११ गतेदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन सकेको थिएन।
नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रदेश ग्रिड शाखा पोखराका प्रमुख रोशन खड्काका अनुसार बाढीले ढलाएका तीनवटा टावरको विकल्पमा एउटा अस्थायी टावर निर्माण गरी तार तान्ने काम सम्पन्न भएपछि शनिबार राति साढे १० बजे प्रसारणलाइन चार्ज गरिएको हो।
खड्काले नेपाल विद्युत् प्राधिकरण र कालीगण्डकी बेसिनमा रहेका जलविद्युत् आयोजनाका प्राविधिक जनशक्तिको संयुक्त प्रयासमा बाढीबाट क्षति पुगेको २० दिनमै प्रसारणलाइन मर्मत गर्न सफल भएको बताए। यससँगै प्रभावित क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्ने वातावरण बनेको उनले जानकारी दिए।
प्राधिकरणका सहायक निर्देशक सञ्जय लोहनीका अनुसार क्षतिग्रस्त तीनवटा टावरको विकल्पमा क्यानडाको प्रविधिमा आधारित अस्थायी टावर निर्माण गरेर विद्युत् आपूर्ति सञ्चालन गरिएको हो। बेनी–जोमसोम सडकको भिरकाटे खण्डपारि अन्नपूर्ण गाउँपालिका–१ दोबाको औलामा उक्त टावर निर्माण गरिएको छ।
मर्मत कार्यमा कालीगण्डकी बेसिनका जलविद्युत् आयोजनाका इन्जिनियर, प्राविधिक तथा मजदुरसहित ठूलो जनशक्ति परिचालन गरिएको थियो। २० जनाभन्दा बढी इन्जिनियर, उत्तिकै सङ्ख्यामा प्राविधिक र ५० जनाभन्दा बढी मजदुर पछिल्लो १५ दिनदेखि मर्मत कार्यमा खटिएका थिए।
अस्थायी टावर निर्माण गरी विद्युत् आपूर्ति सञ्चालनमा ल्याइए पनि क्षतिग्रस्त टावरहरूको स्थायी पुनर्निर्माण प्रक्रिया सँगसँगै अघि बढाइने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्रसारणलाइनमा क्षति पुगेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेका ५ मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, ३८ मेगावाटको निलगिरी–१, ७१ मेगावाटको निलगिरी–२ र ६ मेगावाटको रेलेखोला जलविद्युत् आयोजनाका साथै मुस्ताङको टुकुचेमा रहेको १४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना प्रभावित भएका थिए।
प्रसारणलाइन मर्मतसँगै यी आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने बाटो खुलेको छ।
प्रतिक्रिया दिनुहोस