ग्वालियर । भारतको मध्य प्रदेशस्थित ग्वालियरमा शीतला माता मन्दिर नजिकै अनियन्त्रित ट्रकले तीर्थयात्रीहरूलाई ठक्कर दिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। घाइतेमध्ये पाँचदेखि छ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।
वरिष्ठ प्रहरी अधीक्षक धर्मवीर सिंहका अनुसार आइतबार बिहान करिब १ः३० बजे चिनोरबाट मन्दिरतर्फ आउँदै गरेको धान बोकेको ट्रकले ठाडो ओरालोमा नियन्त्रण गुमाएको थियो। भारी सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको उक्त सडकमा ट्रकले प्रहरीका अवरोधसमेत पार गर्दै तीर्थयात्रीहरूलाई ठक्कर दिएको थियो। त्यसपछि ट्रक मन्दिरको बाहिरी पर्खाल र ढोकामा ठोक्किएको थियो।
दुर्घटनापछि ३९ जनालाई अस्पताल पुर्याइएको र तीमध्ये १२ जनाको मृत्यु भएको सिंहले जानकारी दिएका छन्। दुर्घटनामा ड्युटीमा खटिएका दुई प्रहरी कर्मचारीसमेत घाइते भएका छन्।
ग्वालियरकी जिल्ला अधिकारी रुचिका चौहानका अनुसार दुर्घटनालगत्तै उद्धारका लागि एम्बुलेन्स तथा अन्य सवारीसाधन परिचालन गरिएको थियो। दुर्घटनाको कारण पत्ता लगाउन ट्रकको प्राविधिक परीक्षण गरिने भएको छ।
नवरात्रका बेला राखिएका प्रहरी अवरोध तथा जाँच चौकी पार गरेर ट्रक प्रतिबन्धित सडकमा कसरी प्रवेश गर्यो भन्ने विषयमा समेत अनुसन्धान भइरहेको चौहानले बताएकी छन्।
एक प्रत्यक्षदर्शीका अनुसार ट्रकमा क्षमताभन्दा बढी भार थियो। अनियन्त्रित ट्रकले पसल तथा सडकमा रहेका मानिसहरूलाई समेत ठक्कर दिएको थियो। ती प्रत्यक्षदर्शीका भाइसमेत दुर्घटनामा परी घाइते भएका छन्।
प्रतिक्रिया दिनुहोस