कोलकाता । भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातामा दुर्गा पूजा पर्वका क्रममा भएको भागदौडमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
अधिकारीहरूका अनुसार शनिबार राति वर्षा हुन थालेपछि दुर्गा पूजा मण्डप नजिक भेला भएका मानिसहरू ओत लाग्न दौडिँदा भागदौड मच्चिएको हो। केही भक्तजन सडकमा लडेपछि भीड अनियन्त्रित बनेको प्रहरीले जनाएको छ।
घटनामा घाइते भएकाहरूको कोलकाता मेडिकल कलेज तथा अस्पतालमा उपचार भइरहेको छ। अस्पताल पुगेका मुख्यमन्त्री सुभेन्दु अधिकारीका अनुसार दुर्घटनामा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइतेको उपचार भइरहेको छ। घटनाको छानबिन गर्न उच्च अदालतका न्यायाधीशको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरिने उनले जानकारी दिएका छन्।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ। केही दुर्गा पूजा मण्डपका आयोजक, निजी सुरक्षाकर्मी तथा ड्युटीमा खटिएका कर्मचारीलाई हिरासतमा लिइएको छ। भीड व्यवस्थापन र सुरक्षामा कमजोरी भए–नभएको विषयमा अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।
दुर्गा पूजा पर्वका अवसरमा कोलकाताभरि स्थानीय भाषामा ‘पण्डाल’ भनिने करिब तीन हजार पाँच सय पूजा मण्डप निर्माण गरिएका छन्। घटनापछि अधिकारीहरूले अत्यधिक भीड हुने स्थलहरू अस्थायी रूपमा बन्द गर्न आयोजकहरूलाई सुझाव दिएका छन्।
भारतमा ठूला धार्मिक पर्वका क्रममा भीड अनियन्त्रित हुँदा भागदौडका घटना बारम्बार हुने गरेका छन्। लाखौँ मानिस सीमित क्षेत्रमा भेला हुने यस्ता अवसरमा पर्याप्त सुरक्षा र प्रभावकारी भीड व्यवस्थापनको अभावले जनधनको क्षति हुने गरेको छ।
यसअघि सन् २०२५ जनवरीमा महाकुम्भ पर्वका क्रममा पवित्र नदीमा स्नान गर्न हजारौँ तीर्थयात्री एकैपटक अघि बढ्दा कम्तीमा ३० जनाको मृत्यु भएको थियो। त्यस्तै, सन् २०१३ मा मध्य प्रदेशको एक मन्दिरमा धार्मिक पर्वका क्रममा पुल भत्किने डरले तीर्थयात्रीहरू आत्तिँदा भएको भागदौडमा कम्तीमा ११५ जनाको मृत्यु भएको थियो। त्यतिबेला केहीको नदीमा डुबेर समेत ज्यान गएको थियो।
प्रतिक्रिया दिनुहोस