२०८३, कार्तिक २ गते

आइतवार, कार्तिक २ गते २०८३

फ्रान्समा बढ्दो महँगीविरुद्धको आन्दोलन हिंसात्मक: १५० प्रहरी घाइते, १,२०० भन्दा बढी पक्राउ

आइतवार, कार्तिक २ २०८३०७:०७

पेरिस । बढ्दो महँगी, सामाजिक असमानता र शिक्षा क्षेत्रको खस्किँदो अवस्थाको विरोधमा फ्रान्सभर आयोजित राष्ट्रव्यापी प्रदर्शन हिंसात्मक बनेको छ। शनिबार राजधानी पेरिससहित देशका प्रमुख सहरहरूमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भीषण झडप, तोडफोड तथा आगजनीका घटना भएका छन्।

फ्रान्सेली गृह मन्त्रालयका अनुसार देशभर आयोजित विरोध प्रदर्शनमा करिब ५ लाख ५० हजार मानिस सडकमा उत्रिएका थिए। झडपका क्रममा १५० जना सुरक्षाकर्मी घाइते भएका छन् भने हिंसा र लुटपाटमा संलग्न १ हजार २०० भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ।

प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले घटनाको निन्दा गर्दै मानवीय क्षति अझ बढी नहुनुलाई 'चमत्कार' भएको टिप्पणी गरेका छन्। गृह मन्त्रालयले हिंसात्मक गतिविधिमा अति वामपन्थी समूहहरूको संलग्नता रहेको दाबी गरेको छ।

प्रदर्शनका क्रममा पेरिस, मार्से, निस, बोर्डो र लिल लगायतका सहरका व्यापारिक प्रतिष्ठानहरूमा व्यापक लुटपाट भएको छ। मध्य फ्रान्सको लिमोजस्थित ऐतिहासिक सिटी हल तथा लियोनको पर्यटकीय कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका छन्। त्यस्तै, सञ्चारमाध्यमका कार्यालय र सवारीसाधनमाथि समेत आक्रमण भएको जनाइएको छ।

राष्ट्रपति इमानुएल म्याक्रोनले सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेहरूलाई कडा कानुनी कारबाही गरिने चेतावनी दिएका छन्। अर्कोतर्फ, विपक्षी वामपन्थी दलहरूले भने सरकारको कठोर नीतिका कारण परिस्थिति अराजकतातर्फ धकेलिएको आरोप लगाएका छन्।

गत महिना विद्यालय पूर्वाधार र शिक्षक अभावको विषयलाई लिएर विद्यार्थीहरूले सुरु गरेको आन्दोलनमा अहिले मजदुर युनियन, 'येलो भेस्ट' अभियानका समर्थक तथा विपक्षी दलहरू समेत मिसिएपछि प्रदर्शन राष्ट्रव्यापी र उग्र बन्न पुगेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij