२०८३, कार्तिक २ गते

आइतवार, कार्तिक २ गते २०८३

जसपा नेपाल र लोसपाबीच मधेसमा समायोजन, १५५ सदस्यीय प्रदेश समिति गठन

शुक्रवार, आश्विन ३० २०८३१२:४९

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल) बीच मधेस प्रदेशमा पार्टी समायोजन भएको छ। दुवै पार्टीलाई समेटेर १५५ सदस्यीय मधेस प्रदेश समिति गठन गरिएको हो।

समायोजनअन्तर्गत केन्द्रदेखि स्थानीय तहसम्म ६०–४० को अनुपातमा जिम्मेवारी बाँडफाँट गर्ने सहमति भएको छ। जसपा नेपालले ६० प्रतिशत र लोसपा नेपालले ४० प्रतिशत हिस्सा पाएका छन्।

समझदारीअनुसार मधेस प्रदेश समितिको अध्यक्ष जसपा नेपालले पाएको छ भने कोषाध्यक्ष लोसपा नेपालले पाएको छ। सात जना उपाध्यक्षमध्ये तीन जना लोसपाको तर्फबाट रहेका छन्। दुई जना मुख्यसचिवमा दुवै पार्टीले एक–एक जना पाएका छन्। सात जना सचिवमध्ये जसपा नेपालले चार र लोसपा नेपालले तीन जना पाएको जसपाका केन्द्रीय उपाध्यक्ष जितेन्द्र सोनलले जानकारी दिए।

समितिको अध्यक्षमा बालकिशोर यादव रहेका छन्। उपाध्यक्षमा ज्ञानेन्द्र यादव, रामपृत पासवान, सिंहासन साह कलवार, रामज्ञान मण्डल, श्रीराम गिरी, सुशीलकुमार यादव र ओमलोक पटेल चयन भएका छन्।

त्यस्तै, मुख्यसचिवमा दिनेशकुमार यादव र हरि मण्डल रहेका छन्। सचिवहरूमा राजकुमार यादव, अरुण ठाकुर, सन्त यादव, युसुफ अली, सोहेन्द्र यादव, पुनित राम र मिथलेश यादव रहेका छन्। कोषाध्यक्षमा समसुद्धिन राइन चयन भएका छन्।

कार्यकारिणी समिति तथा अन्य सदस्यको बाँडफाँट पनि ६०–४० को अनुपातमा गरिएको छ।

दुई पार्टीबीच एकता भई जसपा नेपाल बनेपछि संगठनात्मक समायोजनलाई तीव्रता दिइएको हो। हालै सम्पन्न केन्द्रीय समितिको बैठकले समायोजन प्रक्रिया चाँडै सम्पन्न गर्ने निर्णय गरेको थियो।

केन्द्रीय उपाध्यक्ष सोनलका अनुसार मधेस प्रदेशसँगै जिल्ला तथा स्थानीय तहका समितिहरूको समायोजन पनि अघि बढाइनेछ। साथै, पार्टीका भ्रातृ संगठनहरूको समायोजनसमेत चाँडै सम्पन्न गर्ने तयारी भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij