केरल । भारतको केरलस्थित कोचिन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै मादक पदार्थ सेवन गरी तीव्र गतिमा चलाइएको कारले स्कुटरलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।
आइतबार बिहान करिब १ः४५ बजे भएको दुर्घटनामा वायनाडकी २१ वर्षीया देविका, पालक्काडकी २२ वर्षीया गोपिका र कर्नाटकका २१ वर्षीय इजाजको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरू एउटै स्कुटरमा सवार थिए।
प्रहरीका अनुसार १९ वर्षीय कार चालक सुहैल सजीवलाई नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुसन्धानमा चालकले मादक पदार्थ सेवन गरेको आशङ्का गरिएपछि पुष्टि गर्न रगत र पिसाबको नमुना सङ्कलन गरिएको छ।
नेदुम्बासेरी नजिकै भएको दुर्घटनामा तीव्र गतिमा आएको मिनी कूपर कारले स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो। घाइते तीनै जनालाई अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीले चालकका सामाजिक सञ्जालमा भेटिएका तीव्र गतिमा कार चलाएका भिडियो, घटनास्थलको सीसीटीभी फुटेज र सवारीसाधनको प्राविधिक परीक्षणका आधारमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस