काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य संरचनालाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ। उता अमेरिकाले पनि हर्मुज स्ट्रेट नजिक इरानका १० सैन्य अड्डामा हवाई आक्रमण गरेको जनाएको छ।
बीबीसी फारसी सेवाका अनुसार आईआरजीसीले आइतबार बिहान कुवेतको अली अल-सलेम एयर बेस र बहराइनस्थित अमेरिकी पाँचौँ फ्लिट मुख्यालयसँग सम्बन्धित आठ स्थानमा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार गरिएको जनाएको हो।
आईआरजीसीले विज्ञप्तिमार्फत यो आक्रमण हालै इरानमाथि गरिएको अमेरिकी हवाई हमलाको प्रतिकारस्वरूप भएको दाबी गरेको छ। यद्यपि, अमेरिकी अधिकारीहरूले हालसम्म कुनै क्षति वा मानवीय हताहतबारे जानकारी दिएका छैनन्।
आईआरजीसीले यसअघि अमेरिकी सेनाले आईआरजीसी नौसेना र एक जहाजबीच भएको आमनेसामनेको घटनालाई बहाना बनाएर इरानका पाँच तटीय चौकीमा आक्रमण गरेको आरोप पनि लगाएको छ।
विज्ञप्तिमा हर्मुज स्ट्रेटको सुरक्षा र समुद्री यातायात व्यवस्थापन इस्लामाबाद सम्झौता अनुसार इरानको जिम्मेवारी रहेको उल्लेख गर्दै अबदेखि नियम उल्लंघन गर्ने जहाजविरुद्ध थप कडा कारबाही गरिने चेतावनी दिइएको छ। साथै, युद्धविरामको थप उल्लंघनले उक्त सम्झौताको कार्यान्वयन नै प्रभावित हुन सक्ने पनि आईआरजीसीले जनाएको छ।
यसैबीच अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानले एम/टी किकु तेल ट्यांकरमाथि गरेको ड्रोन आक्रमणको जवाफस्वरूप अमेरिकी नौसेना र वायुसेनाले शनिबार राति हर्मुज स्ट्रेट तथा आसपासका क्षेत्रमा रहेका इरानका करिब १० सैन्य अड्डामा हवाई प्रहार गरेको जनाएको छ।
सेन्टकमले सामाजिक सञ्जाल एक्समार्फत रातको समयमा भएको विस्फोट देखिने भिडियोसमेत सार्वजनिक गरेको छ।
इरानले भने अमेरिकाको पछिल्लो हवाई आक्रमणबारे औपचारिक प्रतिक्रिया दिएको छैन।
यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम उल्लंघन जारी रहे इरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।
उनले ट्रुथ सोसलमा लेखेका छन्, "युद्धविराम सम्झौता पुनः उल्लंघन भएपछि अमेरिकी विमानले इरानका क्षेप्यास्त्र, ड्रोन भण्डारण केन्द्र र रडार प्रतिष्ठानमा प्रहार गरेका छन्।"
ट्रम्पले थप चेतावनी दिँदै लेखेका छन्, "इरानले अझै पनि पाठ सिकेको देखिँदैन। आवश्यक परे हामीले सुरु गरेको सैन्य अभियान पूरा गर्न बाध्य हुनेछौँ। त्यसो भयो भने इरानको इस्लामिक गणतन्त्रको अस्तित्व नै संकटमा पर्न सक्छ।"
उल्लेखनीय छ, केही समयअघि मात्रै अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने उद्देश्यले शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो। सम्झौताको कार्यान्वयनबारे दुवै देशबीच असार ७ गते स्विट्जरल्यान्डमा पहिलो चरणको वार्ता पनि सम्पन्न भएको थियो। तर पछिल्ला सैन्य गतिविधिले दुई देशबीचको तनाव फेरि तीव्र बनेको संकेत दिएको छ।
प्रतिक्रिया दिनुहोस