काठमाडौं । स्ट्रेट अफ हर्मुजमा पानामाको झन्डा बोकेको तेल ट्यांकरमाथि ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानविरुद्ध नयाँ सैन्य कारबाही सुरु गरेको छ।
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले आइतबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार इरानका विभिन्न सैन्य लक्ष्यमा लक्षित आक्रमण गरिएको हो। सेन्टकमका अनुसार यो कारबाही अन्तर्राष्ट्रिय व्यापारिक ढुवानीविरुद्ध इरानले निरन्तर गरिरहेको आक्रामक गतिविधिको जवाफस्वरूप गरिएको हो।
बीबीसीका अनुसार अमेरिकी आक्रमणमा इरानका सैन्य उपकरण, सञ्चार प्रणाली, वायु रक्षा प्रणाली तथा ड्रोन भण्डारण केन्द्रहरूलाई निशाना बनाइएको छ।
सेन्टकमले इरानलाई युद्धविराम सम्झौताको सम्मान गर्ने पर्याप्त अवसर दिइएको दाबी गर्दै त्यसको सेनाले एकतर्फी रूपमा एम/टी किकु नामक पानामाको झन्डा बोकेको तेल ट्यांकरमाथि ड्रोन आक्रमण गरेको जनाएको छ।
सेन्टकमका अनुसार उक्त ट्यांकरमा २० लाख ब्यारेलभन्दा बढी कच्चा तेल रहेको थियो र जहाज स्ट्रेट अफ हर्मुज हुँदै यात्रा गरिरहेको बेला आक्रमण भएको थियो।
घटनाबारे इरानले भने अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन।
यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम उल्लंघन दोहोरिए इरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।
उनले ट्रुथ सोसलमा लेखेका छन्, "युद्धविराम सम्झौता फेरि उल्लंघन भएपछि अमेरिकी विमानहरूले इरानका क्षेप्यास्त्र तथा ड्रोन भण्डारण केन्द्र र रडार प्रतिष्ठानमा प्रहार गरेका छन्।"
ट्रम्पले थप लेखेका छन्, "इरानले अझै पनि पाठ सिकेको देखिँदैन। आवश्यक परे हामीले सैन्य बल प्रयोग गरेर सुरु गरेको अभियान पूरा गर्नेछौँ। त्यसो भयो भने इरानको इस्लामिक गणतन्त्रको अस्तित्व नै संकटमा पर्न सक्छ।"
अमेरिका र इरानबीच केही समयअघि युद्ध अन्त्यका लागि शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो। त्यसको कार्यान्वयनबारे दुवै देशका प्रतिनिधिबीच स्विट्जरल्यान्डमा पहिलो चरणको वार्ता पनि सम्पन्न भएको थियो। तर पछिल्लो घटनाक्रमसँगै दुई देशबीचको तनाव फेरि चुलिएको छ।
प्रतिक्रिया दिनुहोस