राइनो क्लब, नारायणगढले आगामी कात्तिक १४ गते ‘राइनो दौड प्रतियोगिता–२०८३’ आयोजना गर्ने भएको छ। पाँच किलोमिटर दूरीको दौड गैँडाकोटस्थित जयश्री पुलबाट सुरु भई नारायणगढको लीलाचोकमा पुगेर समापन हुनेछ।
प्रतियोगिताका संयोजक महेश प्रधानका अनुसार दौडमा महिला तथा पुरुष दुवै विधामा प्रतिस्पर्धा हुनेछ। दुवै विधाका विजेतालाई समान पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगितामा प्रथम हुनेले १५ हजार रुपैयाँ, द्वितीय हुनेले १० हजार रुपैयाँ र तृतीय हुनेले पाँच हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।
त्यसैगरी, निर्धारित ३० मिनेटभित्र पाँच किलोमिटर दौड पूरा गर्ने सबै धावकलाई फिनिसर प्रमाणपत्र प्रदान गरिने प्रधानले बताए। प्रतियोगिताका सहसंयोजक रोहित श्रेष्ठका अनुसार ५० वर्षभन्दा माथिका भेट्रान धावकलाई समेत विशेष सम्मान गरिनेछ।
प्रतियोगितामा सहभागी हुन १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले नाम दर्ता गर्न सक्नेछन्। प्रतियोगिताको दर्ता शुल्क २०० रुपैयाँ तोकिएको छ।
प्रतियोगिताका सल्लाहकार राजु श्रेष्ठका अनुसार राइनो क्लबले विगतमा नारायणगढ तथा आसपासका क्षेत्रमा दौडलगायत विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्दै आएको छ। विसं २०३७ देखि सञ्चालन हुँदै आएको दौड प्रतियोगिता विभिन्न कारणले निरन्तर हुन नसकेपछि यस वर्षदेखि पुनः सञ्चालन गर्न लागिएको उनले बताए।
प्रतिक्रिया दिनुहोस