२०८३, कार्तिक ३ गते

सोमवार, कार्तिक ३ गते २०८३

फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्ध उग्र प्रदर्शन, १२०० पक्राउ

आइतवार, कार्तिक २ २०८३११:५०

फ्रान्स । विद्यालयहरूको दयनीय अवस्था र बढ्दो महँगीविरुद्ध फ्रान्समा जारी प्रदर्शन शनिबार थप उग्र बनेको छ। देशभर भएका प्रदर्शनका क्रममा हिंसा, आगजनी र लुटपाटका घटना भएपछि प्रहरीले कम्तीमा १ हजार २०० जनालाई पक्राउ गरेको छ।

फ्रान्स सरकारका अनुसार प्रदर्शनमा करिब ५ लाख ५० हजार मानिस सडकमा उत्रिएका थिए। सरकारले पछिल्लो घटनाक्रमलाई हिंसामा भएको वृद्धिका रूपमा व्याख्या गरेको छ।

राजधानी पेरिसमा साँझसम्म प्रदर्शनकारी र दङ्गा नियन्त्रण प्रहरीबीच व्यापक झडप भएको थियो। प्रहरीले भिड नियन्त्रण गर्न अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको थियो। राजधानीसहित विभिन्न सहरमा भवनहरूमा आगजनी र तोडफोड भएको छ। लिमोज सहरको टाउन हलमा लागेको भीषण आगलागीका कारण छानाको एक भाग भत्किएको छ।

कैयौँ सहरमा लुटपाटका घटना भएका छन्। टाउन हल र व्यावसायिक प्रतिष्ठानहरूलाई निशाना बनाएर व्यापक तोडफोड गरिएको खबर सार्वजनिक भएका छन्।

प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले प्रदर्शनका क्रममा १५० जना प्रहरी घाइते भएको बताएका छन्।

बीबीसीका अनुसार पेरिसमा दिउँसो भएको मुख्य जुलुस अधिकांश समय शान्तिपूर्ण देखिएको थियो। प्रदर्शनमा सहभागी केही युवाले आफूहरू शान्तिपूर्ण रूपमा परिवर्तन चाहिरहेको तर अवस्था नबदलिएको बताएका थिए।

यद्यपि, दिन ढल्किँदै जाँदा केही समूहले सडकमा आगो लगाउनुका साथै सवारीसाधन जलाएका थिए। सहरको केन्द्रमा रहेको प्लास डे ला रिपब्लिकजस्ता प्रमुख स्थान पनि निशानामा परेका थिए।

पसलहरू तोडफोड गरी सामान लुटिएको छ भने कम्तीमा एउटा रेस्टुरेन्ट पूर्ण रूपमा जलेर नष्ट भएको छ। केही समूहबीच कुटाकुटसमेत भएको बीबीसीले जनाएको छ। मध्य पेरिसमा दङ्गा नियन्त्रण प्रहरी प्रदर्शनकारीतर्फ अघि बढेको र कैयौँ मानिसलाई लाठीले प्रहार गरेको दृश्य पनि देखिएको थियो।

लियोनका मेयर ग्रेगोरी डुसेटले सहरको पर्यटन कार्यालयमा आगजनी भएको घटनालाई ‘एक त्रासदी’ भनेका छन्। उनले बीएफएमटीभीसँग कुरा गर्दै प्रसिद्ध र ऐतिहासिक भवनमा क्षति पुग्नु दुःखद भएको बताएका छन्।

स्थानीय प्रहरीले उग्र प्रदर्शनकारीहरूले दमकलकर्मीलाई सुरक्षित रूपमा आगो निभाउन अवरोध गरेको जनाएको छ। लिमोज टाउन हलमा लागेको आगो नियन्त्रण गर्ने प्रयास गरिए पनि भवनको एक भाग भत्किएको छ।

दक्षिणपूर्वी सहर सेन्ट–इटिएनका मेयर रेजिस जुआनिकोले सामाजिक सञ्जालमार्फत एक युवकको ग्रेनेड विस्फोटका कारण हात उडेको बताएका छन्।

फ्रान्सको गृह मन्त्रालयका अनुसार राजधानीका केही भागसहित मार्सेई, रेनेस, टुलुज र आन्जेमा नकाबपोश समूहले लक्षित हिंसात्मक घटना गराएका थिए। ग्रेनोबल, एभिन्यो, पो, मोन्टपेलियर र भ्यालेन्समा पनि भवनहरूमा क्षति पुगेको खबर सार्वजनिक भएका छन्।

पेरिसमा कपडा तथा खाद्यान्न पसलहरू लुटिएका छन् भने लिल सहरस्थित एप्पल स्टोरबाट सामान चोरी भएको छ। ग्रेनोबलको केन्द्रमा नकाबपोश मानिसहरू पर्यटक बोक्ने रेल चलाउँदै दङ्गा नियन्त्रण प्रहरीतर्फ अघि बढेको भिडियोको बीबीसी भेरिफाईले पुष्टि गरेको जनाएको छ।

पछिल्ला केही सातादेखि फ्रान्सका लाखौँ विद्यार्थीले माध्यमिक विद्यालयमा कर्मचारीको अभाव र जीर्ण पूर्वाधारको विरोध गर्दै आएका छन्। फ्रान्समा ‘लाइसी’ भनिने यी विद्यालयमा १५ देखि १८ वर्ष उमेर समूहका विद्यार्थी अध्ययन गर्छन्।

सेप्टेम्बरको अन्त्यदेखि विद्यार्थीहरूले राम्रो शैक्षिक वातावरण र पर्याप्त स्रोतसाधनको माग गर्दै देशभरका सयौँ माध्यमिक विद्यालयका ढोका बन्द गराएका छन्। यस क्रममा सुरक्षा बलसँग झडपसमेत भएका छन्।

विद्यालयमा थप लगानीको माग गर्दै माध्यमिक विद्यालय र विश्वविद्यालयका विद्यार्थीहरूको प्रदर्शन जारी छ। केही ठूला ट्रेड युनियनको गठबन्धनसमेत आन्दोलनमा सहभागी भएको छ।

शनिबार ट्रेड युनियनका सदस्य र अन्य विरोध समूह सहभागी भएपछि प्रदर्शनकारीको सङ्ख्या थप बढेको थियो। प्रदर्शनमा सन् २०१८ देखि बढ्दो महँगी र जीवनयापनको लागतविरुद्ध आन्दोलन गर्दै आएको ‘येलो भेस्ट’ समूहका सदस्यसमेत सहभागी भएका थिए। उक्त आन्दोलन फ्रान्सको इतिहासमा लामो समयसम्म चलेका विरोध आन्दोलनमध्ये एक बनेको थियो।

फ्रान्समा विरोध प्रदर्शन र अशान्तिका घटना नयाँ होइनन्। तर, यसपटकको आन्दोलन देश गहिरो राजनीतिक अनिश्चितताबाट गुज्रिरहेका बेला चर्किएको छ।

राष्ट्रपति इमानुएल म्याक्रोंको कार्यकाल सकिन लागेसँगै आगामी राष्ट्रपति निर्वाचनलाई लिएर राजनीतिक गतिविधि तीव्र बनेको छ। जनमत सर्वेक्षणहरूले अप्रिलमा हुने निर्वाचनमा नेसनल र्‍यालीकी नेता मारिन ले पेन र कट्टर वामपन्थी नेता जाँ–लुक मेलेनकोनबीच प्रतिस्पर्धा हुन सक्ने सङ्केत गरेका छन्।

मेलेनकोनले पनि प्रदर्शनमा सहभागी हुँदै प्रहरीमाथि प्रदर्शनकारीविरुद्ध अत्यधिक बल प्रयोग गरेको आरोप लगाएका छन्। यद्यपि, उनले लुटपाट र आगजनीको निन्दा गरेका छन्।

प्रधानमन्त्री लेकोर्नुले मेलेनकोनको टिप्पणीलाई ‘खतरनाक र निन्दनीय’ भनेका छन्। उनले प्रदर्शनका क्रममा प्रहरीले अत्यन्तै तीव्र हिंसाको सामना गर्नुपरेको बताएका छन्। केही समूहले राष्ट्रपति निर्वाचनअघि प्रदर्शनलाई अभ्यासका रूपमा प्रयोग गरिरहेको आरोपसमेत उनले लगाएका छन्।

उनले भने, ‘कसैले पनि हिंसाको माध्यमबाट आफ्नो राजनीतिक एजेन्डा लाद्न पाउनेछैन।’

मारिन ले पेनले प्रदर्शनकारीका जायज मागलाई कट्टर वामपन्थीहरूले बन्धक बनाएको आरोप लगाएकी छन्। उनले मेलेनकोनमाथि हिंसालाई बढावा दिएको आरोपसमेत लगाएकी छन्।

राष्ट्रपति म्याक्रोंले सरकारी कार्यालय, व्यावसायिक प्रतिष्ठान र टाउन हलमा तोडफोड तथा लुटपाट गर्नेहरूविरुद्ध मुद्दा चलाएर सजाय दिइने बताएका छन्।

प्रदर्शन चर्किएपछि सरकारले केही सहुलियत दिने प्रयास गरेको छ। शिक्षामन्त्री एडुआर्ड जेफ्रेले अक्टोबर ८ मा टेलिभिजन अन्तर्वार्ताका क्रममा थप तीन हजार अस्थायी शिक्षक नियुक्त गर्ने प्रतिबद्धता जनाएका थिए।

तर, विद्यालयमा कर्मचारी अभाव, जीर्ण पूर्वाधार र बढ्दो महँगीका कारण उत्पन्न असन्तुष्टि मत्थर हुन सकेको छैन। सरकारी प्रतिबद्धताका बाबजुद प्रदर्शन जारी रहनु र हिंसात्मक घटनासमेत बढ्नुले फ्रान्स सरकारमाथि दबाब थपिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij