जुम्ला । जुम्लाको हिमा गाउँपालिका–२, ओदीमा द्वन्द्वकालीन समयमा बारुद भरिएको आशंका गरिएको पाइप विस्फोट हुँदा दुई जना बालक घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार सोमबार पाइप काट्ने क्रममा विस्फोट भएको हो। प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले पाइप काट्ने क्रममा विस्फोट हुँदा दुई बालक घाइते भएको जानकारी दिएका छन्।
प्रारम्भिक अनुमानअनुसार उक्त पाइपभित्र लामो समयअघि बारुद भरिएको हुन सक्ने प्रहरीले जनाएको छ। विस्फोटको वास्तविक कारण र पाइपभित्र रहेको पदार्थबारे अनुसन्धान भइरहेको छ।
स्थानीय तारा रोकायाका अनुसार दलबहादुर रोकायाका अन्दाजी १४ वर्षीय छोरा बलबहादुर रोकाया गम्भीर घाइते भएका छन्। विस्फोटमा उनको बुढीऔँलामा गम्भीर चोट लागेको छ।
गम्भीर घाइते बलबहादुरलाई सिंजा गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्ला पुर्याइएको छ। अस्पतालमा उनको उपचार भइरहेको छ।
द्वन्द्वकालमा प्रयोग भएका विस्फोटक पदार्थ तथा बारुद भरिएका वस्तु असुरक्षित अवस्थामा रहँदा यस्ता दुर्घटनाको जोखिम रहने देखिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस