चलचित्र पत्रकार सङ्घले चलचित्र तथा कला–संस्कृतिका गतिविधिलाई राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यसहित विभिन्न प्रदेश तथा जिल्लामा अधिवेशन सम्पन्न गरी संगठन विस्तार गरेको छ।
सञ्चार क्षेत्रमार्फत चलचित्र उद्योगलाई निरन्तर सहयोग गर्दै आएको सङ्घले हालसम्म मुलुकका १५ जिल्ला र विदेशमा ८ वटा शाखा विस्तार गरिसकेको केन्द्रीय अध्यक्ष समिर बलामीले जानकारी दिए। उनका अनुसार सङ्घका गतिविधि केवल चलचित्र पत्रकारितामा सीमित नरही कला, साहित्य, गीत–संगीत, रङ्गमञ्च तथा मनोरञ्जन क्षेत्रका विविध कार्यक्रममा समेत सक्रिय रूपमा विस्तार गरिएको छ।
सङ्घले आफ्नो १०औँ केन्द्रीय महाधिवेशन आगामी वैशाख ५ गतेभित्र सम्पन्न गर्ने लक्ष्यसहित शाखा अधिवेशनहरू सम्पन्न गरेको जनाएको छ।
हालै सम्पन्न अधिवेशनबाट कोशी प्रदेशमा वीरेन्द्र शाह अध्यक्ष चयन भएका छन्। त्यसैगरी कास्कीमा सन्तोष बस्याल, पर्सामा सूर्यनारायण विक, सुनसरीमा सुवास सङ्कल्प श्रेष्ठ, मकवानपुरमा कपिल खड्का र मोरङमा प्रेम देवान निर्विरोध अध्यक्ष चयन भएका छन्।
यसैगरी चितवनमा गोविन्द अर्याल, इलाममा अतित योङहाङ, रूपन्देहीमा कृष्ण भण्डारी, कैलालीमा विवेक नगरी, झापामा एकराज प्रधान, सुर्खेतमा रमेशकुमार पाण्डे, बाँकेमा रामचन्द्र पौडेल तथा दाङमा निरला अर्याल अध्यक्ष पदमा चयन भएका छन्।
सङ्घले आफ्ना सदस्यहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम, अन्तरक्रिया, कार्यशाला, राष्ट्रिय भेला, स्थापना दिवस कार्यक्रम सञ्चालन गर्नुका साथै कल्याणकारी कोषमार्फत बिरामी सदस्यलाई सहयोग प्रदान गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस