काठमाडौं । विभिन्न जिल्लाका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। चितवन, झापा र रुपन्देहीका ५७ परिवार लालपुर्जा पाएसँगै कानुनी रूपमा जग्गाधनी बनेका हुन्।
सम्बन्धित जिल्लाका भूमि समस्या समाधान समितिले उनीहरूलाई लालपुर्जा वितरण गरेको हो।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–७ का ३२ भूमिहीन सुकुमवासी र एक भूमिहीन दलित परिवारले लालपुर्जा प्राप्त गरेका छन्।
त्यस्तै, झापाको अर्जुनधारा नगरपालिका–११ का सात अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण गरिएको छ।
यसैगरी, रुपन्देहीको गैडहवा गाउँपालिका–८ र ९ का १४ भूमिहीन दलित तथा दुई भूमिहीन सुकुमवासी परिवारले जग्गाधनी पुर्जा पाएका छन्।
लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपुर्जा प्राप्त गरेपछि जग्गामाथिको कानुनी स्वामित्व सुनिश्चित भएको छ।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरण कार्य अघि बढाएको छ।
मन्त्री रावलले कानुनी अड्चन नरहेकाले भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिएकी छन्।
प्रतिक्रिया दिनुहोस