रसुवा । रसुवाको पर्यटन क्षेत्रले पुनर्जीवन पाउन थालेको छ । बेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज निर्माण भएसँगै लामो समयदेखि सुस्ताएको पर्यटन व्यवसायमा उत्साह पलाएको हो ।
गत भदौ १० गते आएको बाढीले फलाखु खोलाको पुल बगाएपछि झन्डै डेढ महिनादेखि उक्त क्षेत्र सुनसान बनेको थियो । नेपाली सेनाको प्रयासमा ४७ दिनपछि बेलीब्रिज सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक नाका र पर्यटकीय जिल्ला रसुवा पुनः लयमा फर्किन थालेको छ ।
करिब ७४ मिटर लामो बेलीब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएपछि सवारीसाधनको आवागमन सुरु भएको छ । पुल सञ्चालनमा आएसँगै विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य लाङटाङ र पवित्र तीर्थस्थल गोसाइँकुण्ड जाने पर्यटकको चहलपहल बढ्न थालेको छ ।
पर्यटकीय याममा यातायात सेवा सञ्चालनमा आएपछि लामो समयदेखि प्रभावित पर्यटन व्यवसायमा सकारात्मक परिवर्तन देखिन थालेको छ ।
बुधबार बिहानै विदेशी पर्यटक बोकेका सवारीसाधनको ताँती सदरमुकाम धुन्चे हुँदै लाङटाङ प्रवेशद्वारतर्फ लागेको थियो । यातायात सेवा पुनः सञ्चालनमा आएपछि स्थानीय व्यवसायी र बासिन्दामा खुसी छाएको छ ।
चारैतिर हिमालले घेरिएको रसुवा सडक सम्पर्कबाट विच्छेद हुँदा यहाँको जनजीवन कष्टकर बनेको थियो । अर्बौं रुपैयाँ लगानी रहेको पर्यटन उद्योगसमेत धराशायी हुने जोखिम बढेको थियो । पुल सञ्चालनमा आएपछि रसुवा भित्रिने पर्यटक र स्थानीय व्यवसायीमा नयाँ ऊर्जा थपिएको छ ।
धुन्चेका स्थानीय होटल व्यवसायी निशान गजुरेलले बाढीले पुल बगाएपछि होटलहरू सुनसान बनेको र बुकिङ धमाधम रद्द हुँदा पर्यटकीय सिजन नै प्रभावित हुने चिन्ता बढेको बताए ।
‘बाढीले पुल बगाएपछि हाम्रा होटलहरू रित्तिएका थिए । बुकिङहरू धमाधम रद्द हुँदा यो सिजन नै बर्बाद हुने हो कि भन्ने ठूलो चिन्ता थियो,’ उनले भने, ‘बेलीब्रिज बनेपछि आजैबाट पर्यटकको चहलपहल सुरु भयो । यो हाम्रा लागि दसैँ–तिहारभन्दा ठूलो खुसीको कुरा हो । अब रसुवाको पर्यटन जुर्मुराएको छ ।’
बेलीब्रिजमार्फत आवागमन सहज भएसँगै चाडपर्वका समयमा घर फर्किने सर्वसाधारण, आन्तरिक पदयात्री र विदेशी पर्यटकका लागि हिमाली यात्रा सहज बनेको छ ।
लामो समयको सन्नाटा चिर्दै रसुवाका होटल, रिसोर्ट तथा पदमार्गमा स्वदेशी र विदेशी पाहुनाको आगमन बढ्न थालेको छ । पुल सञ्चालनमा आएपछि पर्यटन व्यवसायले पुनः गति लिने र स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस