साउदी अरबको राजधानी रियादस्थित ८० तले पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ) टावरमा मंगलबार भएको आक्रमणमा एक नेपालीसहित ११ जना घाइते भएका छन्।
साउदी नागरिक सुरक्षा निकायका अनुसार आक्रमणमा साउदी, नेपाली, भारतीय र इजिप्टका नागरिक घाइते भएका हुन्। साउदी प्रेस एजेन्सीका अनुसार घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। यद्यपि, घाइते नेपालीको पहिचान तथा अन्य विवरण सार्वजनिक गरिएको छैन।
केही दिनको अन्तरालमा उक्त भवनमाथि दोस्रोपटक आक्रमण भएको हो। यमनका हुथी विद्रोहीविरुद्ध सक्रिय साउदी नेतृत्वको सैन्य गठबन्धनले घटनालाई ‘आतंकवादी हमला’को संज्ञा दिएको छ।
तीन जना प्रत्यक्षदर्शीका अनुसार रियादको किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्ट (केएएफडी) मा रहेको पीआईएफ टावरलाई आक्रमणको निशाना बनाइएको थियो। उक्त भवनमा साउदी अरबको सार्वभौम सम्पत्ति कोषको मुख्यालय रहेको छ। यसअघि गत बिहीबार पनि सोही भवनमा आक्रमण भएको थियो।
सैन्य गठबन्धनका प्रवक्ता टर्की अल–माल्कीले सामाजिक सञ्जालमार्फत वित्तीय केन्द्रस्थित टावरमा भएको घटनालाई ‘कायरतापूर्ण आतंकवादी हमला’ भनेका छन्।
समाचार एजेन्सी एएफपीका अनुसार गत साताको आक्रमणबाट भएको क्षति मर्मतका लागि कामदारहरू भवनभित्रै रहेका बेला पुनः आक्रमण भएको थियो। घाइतेमध्ये कम्तीमा दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस