राष्ट्रिय सहकारी महासंघको आयोजनामा लुम्बिनीमा तीनदिने ‘अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलन’ आयोजना हुने भएको छ। महासंघका अनुसार सम्मेलन यही मंसिर २४ देखि २६ गतेसम्म सञ्चालन हुनेछ।
महासंघका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेलले दिगो शान्तिका लागि न्याय, समावेशिता, समानता र सबैका लागि आर्थिक अवसर आवश्यक रहेको बताए। पारस्परिक सहयोग, लोकतान्त्रिक सहभागिता र समानताका सिद्धान्तमा आधारित सहकारी संस्थाहरू शान्ति निर्माण तथा दिगो विकासका महत्त्वपूर्ण माध्यम भएकाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सम्मेलन आयोजना गर्न लागिएको उनको भनाइ छ।
सम्मेलनमा सहभागिताका लागि महासंघले सदस्य संघहरूमार्फत स्वदेश तथा विदेशका सहकारीकर्मीलाई आमन्त्रण गरेको छ। पोखरेलका अनुसार सम्मेलनमा सहभागी हुन स्वदेश तथा विदेशबाट उत्साहजनक रूपमा दर्ता भइरहेको छ। करिब ६५० जनाको सहभागिता रहने अपेक्षा गरिएको उनले बताए।
सम्मेलनमा सहकारी क्षेत्रको योगदान र शान्ति निर्माणका विषयसँगै नेपाली सहकारी क्षेत्रमा देखिएका समस्या तथा तिनको समाधानका उपायबारे पनि छलफल गरिनेछ।
केही सहकारी संस्थाले सदस्यको बचत रकम अपचलन गर्दा समग्र सहकारी अभियानप्रति नै प्रश्न उठिरहेको अवस्थामा सम्मेलनले विद्यमान समस्या समाधानका लागि आवश्यक छलफल र मार्गनिर्देशन प्रदान गर्ने विश्वास महासंघले लिएको छ।
सम्मेलनमा सहभागी हुन स्वदेशी सहकारीकर्मीका लागि प्रतिव्यक्ति ६ हजार रुपैयाँ र विदेशी सहभागीका लागि २५० अमेरिकी डलर दर्ता शुल्क निर्धारण गरिएको छ। महासंघले इच्छुक सहकारीकर्मीलाई समयमै दर्ता गरी आफ्नो स्थान सुरक्षित गर्न आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस