सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज परम्परागत ‘दिउसेडी’ मेला लाग्दैछ। उग्रतारा क्षेत्र विकास समितिका अनुसार हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको अवसरमा लाग्ने यो मेलाको आज मुख्य दिन हो।
स्थानीय भाषामा ‘देहिजाँत’ भनिने मेला पूर्णिमाको राति र भोलिपल्ट गरी दुई दिनसम्म सञ्चालन हुन्छ। राति लाग्ने मेलालाई ‘रतेडी’ र दिनमा लाग्नेलाई ‘दिउसेडी’ भन्ने गरिन्छ।
अमरगढी नगरपालिका–८ मा अवस्थित उग्रतारा भगवती मन्दिरमा खनमडा, छचोडा, दुमडा र जिलोडा गाउँका बासिन्दाले परम्परागत पूजा गरेपछि मेला सुरु हुने उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिए।
मेलामा सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाका साथै छिमेकी भारतबाट समेत ठूलो सङ्ख्यामा भक्तजन आउने गरेका छन्। डडेल्धुरा सदरमुकामबाट करिब चार किलोमिटर टाढा सुन्दर डाँडामा अवस्थित मन्दिरमा हजारौँ श्रद्धालु दर्शन तथा पूजाआराधनाका लागि पुग्ने गर्छन्।
यस्तो छ उग्रतारा मन्दिरको धार्मिक किंवदन्ती
जनविश्वासअनुसार परापूर्वकालमा स्थानीय साकी समुदायका एक किसानले खेत जोत्ने क्रममा हलोले शिलामा लाग्दा रगत बगेको थियो। त्यसपछि किसानले आफूसँग ल्याएको खिचडी उक्त स्थानमा चढाउँदा रगत बग्न रोकिएको र देवी प्रकट भएको किंवदन्ती छ।
सोही घटनापछि त्यस स्थानमा मन्दिर स्थापना गरी प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमामा विशेष पूजाआराधना र मेला आयोजना गर्ने परम्परा सुरु भएको स्थानीय विश्वास छ।
धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यो मेला स्थानीय उत्पादनको बिक्री तथा प्रवर्द्धनका लागि समेत महत्त्वपूर्ण मानिन्छ। मेलालाई लक्षित गर्दै अमरगढी नगरपालिकाले आज सार्वजनिक बिदासमेत दिएको छ।
प्रतिक्रिया दिनुहोस