सर्लाही प्रहरीले विभिन्न आपराधिक मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय सुनाइएपछि फरार रहेका १० जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार फरार प्रतिवादी पक्राउ गर्ने अभियानअन्तर्गत सोमबार उनीहरूलाई नियन्त्रणमा लिएर सर्लाही जिल्ला अदालतमा उपस्थित गराइएको हो।
पक्राउ परेकामध्ये बैंकिङ कसुर मुद्दाका एक जना, ज्यान मार्ने उद्योगका पाँच जना, झैझगडा तथा कुटपिटका एक जना र आपराधिक उपद्रव तथा डाँका चोरी मुद्दाका एक जना रहेका छन्।
त्यसैगरी सवारी ज्यान मुद्दामा एक वर्ष कैद र ४ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएका एक जना तथा कर्तव्य ज्यान मुद्दाका एक जना फरार प्रतिवादी पनि पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीहरूबाट कुल ३ वर्ष कैद र २ लाख ३९ हजार रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको थियो।
पक्राउ परेकामध्ये कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दाका एक–एक जनालाई पुर्पक्षका लागि कारागार पठाइएको छ। अन्यलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सर्लाही जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस