भारतले नेपालको पुनर्निर्माण तथा दीर्घकालीन विकासलाई सुदृढ बनाउन दुई खर्ब ४० अर्ब रुपैयाँबराबरको विकास सहयोग प्याकेज घोषणा गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीमा आयोजित संयुक्त मिडिया ब्रिफिङमार्फत उक्त सहयोगको घोषणा गरेका हुन्।
नयाँदिल्लीस्थित हैदराबाद हाउसमा नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले सहयोगले विपद्बाट प्रभावित परिवारको जीवन सामान्य बनाउन, नयाँ अवसर सिर्जना गर्न र भविष्यमा विपद् सामना गर्ने नेपालको क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
उनले नेपाल र भारतबीचको सम्बन्ध साझा इतिहास, आस्था, संस्कृति तथा जनस्तरको निकटतामा आधारित रहेको उल्लेख गरे। भगवान् राम र माता सीतालाई दुवै देशको साझा सभ्यता र आस्थाका प्रतीकका रूपमा प्रस्तुत गर्दै उनले जनकपुर र अयोध्याबीचको धार्मिक सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए।
सोमबारदेखि सञ्चालनमा ल्याइएको ‘सरयू–कमला’ रेल सेवाले अयोध्या पुग्ने श्रद्धालुलाई जनकपुरसम्म यात्रा गरी माता सीताको दर्शन गर्न सहज बनाउने मोदीले बताए। साथै, लुम्बिनी र बोधगयासहित दुवै देशका बौद्ध तथा शिवशक्तिसँग सम्बन्धित पवित्र स्थलबीच सम्पर्क विस्तार गर्न सहकार्य गरिने उनले जानकारी दिए।
पूर्वाधार विकासतर्फ उत्तराखण्ड र नेपालबीच धार्चुला सडक पुलको उद्घाटन तथा बनबासामा एकीकृत जाँच चौकीको शिलान्यास गरिएको उनले बताए। नेपालतर्फ दोधारा चाँदनीमा एकीकृत जाँच चौकी निर्माणको कामसमेत तीव्र गतिमा अघि बढाइने उनको भनाइ थियो।
यी परियोजनाले दुई देशबीच व्यापार र आवतजावतलाई सहज बनाउने उल्लेख गर्दै उनले बिहार, उत्तर प्रदेशलगायत भारतीय राज्य र नेपालबीच सडक, रेल तथा सीमा सम्पर्क विस्तारका योजनालाई गति दिइने बताए। नेपालको पारवहन व्यापार सहज बनाउन कांगडा र पारादीप बन्दरगाहसम्म पहुँच उपलब्ध गराउने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।
नेपालको जलविद्युत् क्षेत्रमा रहेको सम्भावनाको चर्चा गर्दै मोदीले नदीबाट स्वच्छ ऊर्जा उत्पादन गरी आर्थिक समृद्धि हासिल गर्न भारतको ऊर्जा बजार सहयोगी बन्न सक्ने बताए। तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास र अरुण–३ आयोजना निर्धारित समयमै सम्पन्न गर्ने प्रतिबद्धता यसै प्रयासको हिस्सा रहेको उनले उल्लेख गरे।
ऊर्जा तथा अत्यावश्यक वस्तुको आपूर्तिमा भारतले नेपाललाई निरन्तर सहयोग गर्दै आएको बताउँदै उनले चुनौतीपूर्ण अवस्थामा समेत इन्धन, मल तथा अन्य आवश्यक सामग्रीको आपूर्ति कायम राखिएको जानकारी दिए।
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको उद्घाटन र झापामा पेट्रोलियम पदार्थ भण्डारण केन्द्रको शिलान्यासले दुई देशबीचको आपूर्ति साझेदारी थप मजबुत हुने उनको भनाइ थियो।
यसैगरी, नेपालको युवा पुस्तामा रहेको प्रतिभा, ऊर्जा र सिर्जनशीलताको प्रशंसा गर्दै मोदीले उनीहरूका आकांक्षा पूरा गर्न भारत सहकार्य गर्न तयार रहेको बताए। त्यसका लागि नेपालमा नयाँ उद्यम प्रवर्द्धन केन्द्र, नवप्रवर्तन केन्द्र तथा भारतीय प्राविधिक संस्थानको बाह्य परिसर स्थापना गरिने उनले जानकारी दिए।
प्रधानमन्त्री मोदीले घोषणा गरेका यी सहयोग तथा परियोजनाले नेपाल–भारतबीच पूर्वाधार, ऊर्जा, व्यापार, पारवहन, शिक्षा र प्रविधिका क्षेत्रमा सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस