संघीयता कार्यान्वयनपछि विराटनगर महानगरपालिकाले तय गरेको एक दशक लामो विकास यात्रा, स्थानीय शासनको अभ्यास र हासिल गरेका उपलब्धिलाई समेटेर तयार पारिएको पुस्तक सार्वजनिक गरिएको छ।
विराटनगर महानगरपालिका वडा नं. ११ ले प्रकाशन गरेको ‘महानगरका दश वर्ष : अनुभव र उपलब्धि’ नामक पुस्तक आइतबार आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।
विराटनगर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा महानगर प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, राष्ट्रियसभाका पूर्वसदस्य खेम नेपाली, कोसी प्रदेशका पूर्वमन्त्री जयराम यादव, महानगरपालिकाकी पूर्वउपप्रमुख इन्दिरा कार्की, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिल साह र अर्थशास्त्री डा. भेषप्रसाद धमलालगायतले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए।
पुस्तकमा संघीयता कार्यान्वयनपछिको विराटनगरको विकासक्रम, स्थानीय सरकारको कार्यसम्पादन, नेतृत्वको भूमिका तथा विभिन्न क्षेत्रमा हासिल भएका उपलब्धिको अभिलेखीकरण गरिएको छ।
पुस्तक सार्वजनिक गर्दै महानगर प्रमुख कोइरालाले यसलाई विराटनगरको इतिहास, विकास यात्रा र स्थानीय शासन प्रणाली बुझ्न सहयोग पुर्याउने महत्त्वपूर्ण सन्दर्भ सामग्रीका रूपमा चित्रण गरे।
प्रकाशन समितिका संयोजकसमेत रहेका वडा नं. ११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले पुस्तक प्रकाशन गर्ने वडाको योजनालाई महानगर कार्यपालिकाले अनुमोदन गरेकोमा आभार व्यक्त गरे।
पुस्तकका सम्पादक तथा वरिष्ठ पत्रकार यज्ञ शर्माले विराटनगरको स्थानीय शासन र विकाससम्बन्धी अनुभव समेटिएको यस कृतिले अन्य स्थानीय तहका जनप्रतिनिधि, नीतिनिर्माता, अनुसन्धानकर्ता तथा सर्वसाधारणलाई समेत उपयोगी जानकारी प्रदान गर्ने बताए।
पुस्तकमा संघीयतामा स्थानीय तहको भूमिका, विराटनगर महानगरपालिकाको परिचय, स्थापनाकालदेखि हालसम्मका नेतृत्व र तिनको योगदानबारे समीक्षा गरिएको छ।
त्यसैगरी, संघीयतापछिका महानगर प्रमुख तथा उपप्रमुखसँगका अन्तर्वार्ता, वडा कार्यालयहरूको अवस्था, महानगरका १९ वटै वडाको परिचय तथा पछिल्लो एक दशकमा भएका विकास प्रयास, उपलब्धि र चुनौतीलाई समेत समेटिएको छ। यसले विराटनगरको स्थानीय शासन र विकास अभ्यासलाई दस्तावेजीकरण गर्ने प्रयास गरेको छ।
प्रतिक्रिया दिनुहोस