अभिनेत्री पूजा शर्मा र गायक तथा अभिनेता अशोक दर्जीलाई मुख्य भूमिकामा लिएर चलचित्र ‘सेतो कोट’ निर्माण हुने भएको छ । शुक्रबार कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा शुभमुहूर्त गर्दै नयाँ बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रममा चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो ।
शिवम् अधिकारीको लेखन तथा निर्देशन रहने चलचित्रको छायांकन यही मंसिर ९ गतेदेखि सुरु हुनेछ । चलचित्रमा पूजा र अशोकसँगै नीर शाह, समी दाहाल, पवन खतिवडा लगायतका कलाकारको अभिनय रहनेछ । टिकटकमा ‘माइली बुहारी’का रूपमा चर्चित समीले यसै चलचित्रमार्फत ठूलो पर्दामा डेब्यु गर्दै हुनुहुन्छ ।
मिनु शर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता मिनु शर्मा ‘सपना’ र सन्देश थापा ‘काजी’ हुनुहुन्छ । फणीन्द्र तामाङ कार्यकारी निर्माता रहेको चलचित्रमा सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन तथा स्टिभ शंकरको संगीत रहनेछ ।
निर्देशक अधिकारीका अनुसार नेपाली चलचित्रमा कमै उठान हुने विषयलाई मनोरञ्जनात्मक र सिनेम्याटिक शैलीमा प्रस्तुत गरिनेछ । चलचित्रमा मौलिकता, सामाजिक यथार्थ र भावनात्मक गहिराइलाई प्राथमिकता दिइने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस