सशस्त्र प्रहरी बलले बिलबिजकबिना काठमाडौं ल्याउँदै गरिएको ११ लाख ५९ हजार २०० रुपैयाँ बराबरको काजु बरामद गरेको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार मंसिर ३ गते कीर्तिपुर नगरपालिका–६, चोभारस्थित सुक्खा बन्दरगाहको मुख्य प्रवेशद्वार अगाडिबाट उक्त काजु बरामद गरिएको हो।
सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाका आधारमा दंगा नियन्त्रण रेजिमेन्टबाट खटिएको टोलीले बाराबाट काठमाडौं आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०४७३ नम्बरको गाडी जाँच गर्ने क्रममा बिलबिजक नभएको काजु फेला पारेको थियो।
प्रहरीले वीरगन्ज महानगरपालिका–२५ निवासी रोशनकुमार साहलाई काजुसहित नियन्त्रणमा लिएको छ।
बरामद काजु र नियन्त्रणमा लिइएका साहलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको डीएसपी थापाले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस