२०८३, मंसिर ११ गते

बिहिवार, मंसिर ११ गते २०८३

बाँकेको राप्तीसोनारीमा १० परिवारले पाए जग्गाधनी पुर्जा

बिहिवार, मंसिर ४ २०८३०८:३०

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाका भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी १० परिवारले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् ।

बुधबार राप्तीसोनारी गाउँपालिका–४, बैजापुरमा आयोजित कार्यक्रममा लामो समयदेखि जग्गाधनी पुर्जाको प्रतीक्षामा रहेका १० परिवारलाई प्रमाणपुर्जा वितरण गरिएको हो ।

जिल्ला भूमि समस्या समाधान समिति बाँकेको आयोजना तथा राप्तीसोनारी गाउँपालिकाको सहयोग र सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य सुरेशकुमार चौधरीले वर्तमान सरकारले भूमिसम्बन्धी समस्या समाधान गर्न अध्यादेशमार्फत कानुन संशोधन गरी काम अघि बढाएको बताए । उनले सरकारको कार्यकालमा सबै भूमिहीन तथा सुकुम्वासीलाई जग्गा वितरण गर्ने योजना रहेको जानकारी दिए ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियामा स्थानीय सरकारले संघीय सरकारलाई सहयोग गर्दै आएको बताए ।

त्यस्तै, जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बाँकेका आठवटै स्थानीय तहमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई प्राथमिकतामा राखेर जग्गाधनी पुर्जा वितरणको काम भइरहेको जानकारी दिए ।

राप्तीसोनारी गाउँपालिका–४ का वडाध्यक्ष मीनराज खड्काका अनुसार जग्गाधनी पुर्जा प्राप्त गर्ने सबै परिवार स्थानीय हुन् ।

वर्षौंदेखि भूमिहीन अवस्थामा रहेका परिवारले जग्गाको कानुनी स्वामित्व प्राप्त गरेसँगै सुरक्षित बसोबासको आधार तयार हुने अपेक्षा गरिएको छ । साथै, सरकारी सेवा तथा सुविधामा पहुँच स्थापित गर्न पनि यसले सहयोग पुग्ने विश्वास लिइएको छ ।

 
 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij