मोरङ । मोरङको रंगेली नगरपालिका–४ चोप्राहा बोर्डरबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित भारतीय दम्पती र उनीहरूका छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा हिजो बेलुकी ७ः५० बजे इलाका प्रहरी कार्यालय रंगेली, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) मोरङ र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका तीन जनालाई चेकजाँच गर्ने क्रममा लागूऔषध बरामद गरेको हो।
प्रहरीका अनुसार भारतको बिहार प्रान्त, अररिया जिल्ला, थाना बोका मोजदार–२ मुस्लिम टोल निवासी ४० वर्षीया सकुन्तला पासवानले दाहिने हातको मुठ्ठीभित्र कालो प्लास्टिकमा लुकाएर राखेको अवस्थामा खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको थियो। बरामद पदार्थको तौल २९ ग्राम ४८० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा सोही स्थानका अन्दाजी ४५ वर्षीय रघुनाथ पासवान, उनकी ४० वर्षीया श्रीमती सकुन्तला पासवान र उनीहरूका अन्दाजी १८ वर्षीय छोरा करण पासवान रहेका छन्।
तीनै जनालाई बरामद लागूऔषधसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस