त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३५.९६ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
हङकङबाट क्याथे प्यासिफिक एयरमार्फत आइतबार काठमाडौं आएका चीनको ग्वाङ्दोङका ४२ वर्षीय नागरिकलाई विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो।
प्रहरीका अनुसार शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा उनले लगाएको भित्री वस्त्रभित्र प्लास्टिकमा बेरेर लुकाइराखेको अवस्थामा दुई थान पहेँलो अर्धठोस पदार्थ फेला परेको थियो।
भन्सार छली अवैध रूपमा लैजान खोजिएको आशंकामा उक्त पदार्थ बरामद गरी उनलाई नियन्त्रणमा लिइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस