२०८३, मंसिर ११ गते

बिहिवार, मंसिर ११ गते २०८३

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा कनेक्टिभिटी, ऊर्जा र व्यापारदेखि सीमा विवादसम्मका विषय उठ्ने सम्भावना

सोमवार, मंसिर १ २०८३०४:११

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणको तयारीसँगै दुई देशबीच हुने छलफलका सम्भावित एजेन्डाबारे चर्चा सुरु भएको छ। प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मंसिर ६ देखि ९ गतेसम्मका लागि तय गरिएको छ।

प्रधानमन्त्रीका रूपमा शाहको यो पहिलो भारत भ्रमण हुनेछ। खुला सीमा, गहिरो व्यापारिक सम्बन्ध र शताब्दीयौँ पुरानो सांस्कृतिक आबद्धता रहेको नेपाल–भारत सम्बन्धलाई नयाँ गति दिने अवसरका रूपमा यस भ्रमणलाई हेरिएको छ।

भ्रमणका सम्भावित एजेन्डाबारे भारतीय सञ्चारमाध्यमले समाचार, विश्लेषण र विचार प्रकाशित गरेका छन्। भारतको अनलाइन सञ्चारमाध्यम ‘द ओपन प्रेस’ले ‘कनेक्टिभिटी, ऊर्जा र व्यापारबारे मिश्रीले काठमाडौंमा वार्ता गरेसँगै बालेन शाहको भारत भ्रमणले आकार लिँदै’ शीर्षकमा विश्लेषण प्रकाशित गरेको छ। उक्त विश्लेषणमा भारतीय विदेशसचिव विक्रम मिश्रीको काठमाडौं भ्रमण र उच्चस्तरीय बैठकपछि शाहको भारत भ्रमणको तयारी अघि बढेको उल्लेख छ।

कनेक्टिभिटी, ऊर्जा र व्यापार प्राथमिकतामा

द ओपन प्रेसका अनुसार भ्रमणका क्रममा हवाई, रेल, सडक र पुलमार्फत हुने सम्पर्क सञ्जाल विस्तारलाई प्राथमिकता दिइने सम्भावना छ।

व्यापार सहजीकरण, विकास साझेदारी, ऊर्जा तथा जलस्रोत सहकार्य र जनस्तरको सम्बन्ध सुदृढ बनाउने विषय पनि छलफलको एजेन्डामा पर्न सक्नेछन्। नेपाल–भारत आर्थिक साझेदारी विस्तारसँगै सडक, पुल तथा अन्य पूर्वाधार निर्माण र ऊर्जा सञ्जाल विस्तारबारे छलफल हुने अपेक्षा गरिएको छ।

धार्मिक तथा सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले अयोध्या–जनकपुर रेलमार्गको परीक्षण सञ्चालनको विषय पनि उठ्न सक्ने समाचारमा उल्लेख छ।

यसैगरी, जलविद्युत् तथा पूर्वाधारका लागि एक अर्ब अमेरिकी डलरको सहुलियतपूर्ण ऋण, सिद्धार्थ राजमार्ग स्तरोन्नतिका लागि ५० करोड डलर अनुदान र हालैको भोटेकोशी–त्रिशूली बाढीपछिको पुनर्निर्माणका लागि थप ५० करोड डलर अनुदानसहित दुई अर्ब डलरबराबरको सहायता प्याकेजबारे छलफल हुन सक्ने बताइएको छ।

भारतीय विदेश मन्त्रालयले नोभेम्बर १० मा पत्रकारहरूलाई भ्रमणको तयारीबारे जानकारी दिएको थियो। प्रवक्ता रणधीर जैसवालले भ्रमणका सम्भावित एजेन्डाको रूपरेखा प्रस्तुत गरेका थिए। त्यसबेला मन्त्रालयले भ्रमणको मिति भने घोषणा भइनसकेको जनाएको थियो।

पञ्चेश्वर र सुक्खा बन्दरगाह पनि एजेन्डामा

भारतीय सञ्चारमाध्यम ईटीभी भारतले ‘नेपाली प्रधानमन्त्रीको प्रस्तावित उत्तराखण्ड भ्रमणका क्रममा पञ्चेश्वर बाँध र महेन्द्रनगरमा सुक्खा बन्दरगाहबारे छलफल हुने’ शीर्षकमा समाचार प्रकाशित गरेको छ। समाचारमा पूर्वाधार, सीमा व्यापार र पर्यटनलाई भ्रमणका सम्भावित प्राथमिकताका रूपमा उल्लेख गरिएको छ।

समाचारअनुसार पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, महेन्द्रनगरमा सुक्खा बन्दरगाह निर्माण, सीमा व्यापार र तराईमा पर्यटन प्रवर्द्धनका विषयमा छलफल हुन सक्छ। यसबाट दुई देशबीचको धार्मिक तथा पर्यटकीय सम्बन्ध थप विस्तार हुने अपेक्षा गरिएको छ।

महाकाली नदीमा प्रस्तावित पञ्चेश्वर आयोजना लामो समयदेखि नेपाल–भारत सहकार्यको प्रमुख परियोजना रहँदै आएको छ। तर, लागत, जलस्रोत उपयोग र लाभ बाँडफाँटसम्बन्धी विवादका कारण आयोजना अघि बढ्न सकेको छैन। पछिल्ला वर्षमा भने दुवै देश विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)लाई अन्तिम रूप दिने प्रक्रिया तीव्र पार्न सहमत भएका छन्।

उत्तराखण्डका क्याबिनेट मन्त्री सतपाल महाराजलाई उद्धृत गर्दै ‘ईटीभी भारत’ले जलस्रोत, विद्युत् उत्पादन र कनेक्टिभिटी आयोजना दुई देशको साझेदारीका प्रमुख आधार रहेको उल्लेख गरेको छ। उनका अनुसार पञ्चेश्वर आयोजना, महेन्द्रनगरको सुक्खा बन्दरगाह र सीमासम्बन्धी विषयमा छलफल हुनेछ।

तराईमा पर्यटन प्रवर्द्धनबारे बोल्दै उनले पूर्णागिरि माता मन्दिरसम्म ‘एलिभेटेड ट्र्याक’ निर्माण भइरहेको जानकारी दिएका छन्। नेपालस्थित सिद्धबाबाको दर्शन नगरी पूर्णागिरिको तीर्थयात्रा अधुरो मानिने धार्मिक विश्वास रहेको उल्लेख गर्दै उनले पर्यटन प्रवर्द्धनमा नेपालसँग सहकार्य गर्न उत्तराखण्ड सरकार इच्छुक रहेको बताए।

महाराजले नेपालको चितवन राष्ट्रिय निकुञ्ज र उत्तराखण्डको जिम कर्बेट राष्ट्रिय निकुञ्जबीचको सहकार्यले दुवै देशलाई फाइदा पुग्न सक्ने बताएका छन्। ‘दुई देशबीचको संवादले आपसी सद्भाव र सम्बन्ध थप सुदृढ बनाउनेछ,’ उनले भनेका छन्।

नेपाल–भारत सम्बन्धमा नयाँ सुरुआतको अवसर

भारतको ओपन द म्यागाजिनमा राहुल पण्डिताले ‘द काठमाण्डु रिसेट’ शीर्षकको विश्लेषणात्मक लेख प्रकाशित गरेका छन्। लेखमा प्रधानमन्त्री शाहको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धमा नयाँ सुरुआतको अवसरका रूपमा व्याख्या गरिएको छ।

शाह नेतृत्वको सरकार गठनपछि सुरुका महिनामा देखिएको दूरी गत अगस्टमा नेपालमा आएको विनाशकारी बाढीपछि भारतले तत्काल सहायता उपलब्ध गराएसँगै घट्न थालेको लेखमा उल्लेख छ।

भ्रमणका क्रममा तल्लो अरुण जलविद्युत् आयोजना, सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन विस्तार र अयोध्या–जनकपुर रेलमार्गजस्ता आयोजना अघि बढाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ। तर, कूटनीतिक सक्रियताले मात्र सीमा, सार्वभौमिकता, व्यापार, आर्थिक निर्भरता र नेपालमा चीनको बढ्दो उपस्थितिसँग जोडिएका पुराना विवाद समाधान नहुने लेखमा औँल्याइएको छ।

सन् २०१५ को नाकाबन्दीपछि नेपालले चीनसँग सम्बन्ध विस्तार र व्यापारका वैकल्पिक मार्ग खोज्न तीव्रता दिएको लेखमा उल्लेख छ। शाहको उदयले नेपाल–भारत सम्बन्धमा नयाँ राजनीतिक परिस्थिति सिर्जना गरेको विश्लेषण पनि गरिएको छ।

परम्परागत कूटनीतिक शैलीबाट दूरी राख्ने छवि बनाएका शाहसँग सम्बन्ध अघि बढाउन भारतले नयाँ दृष्टिकोण अपनाउनुपर्ने चुनौती रहेको लेखमा उल्लेख छ।

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने भारतको योजनाप्रति नेपालको आपत्तिलाई पनि दुई देशबीचको संवेदनशील विवादका रूपमा प्रस्तुत गरिएको छ। नेपालले उक्त मार्ग पर्ने भूभाग आफ्नो भएको दाबी गर्दै आएको छ।

लेखअनुसार नेपाल–भारत सम्बन्ध सुधारको व्यावहारिक आधार आर्थिक सहकार्य हुन सक्छ। नेपालको जलविद्युत् उत्पादन क्षमता र भारतको बढ्दो ऊर्जा मागले दुवै देशलाई लाभ पुग्ने सम्भावना छ। तर, आयोजना कार्यान्वयनमा ढिलाइ हुँदै आएको छ।

सन् १९९६ को महाकाली सन्धिअन्तर्गत प्रस्तावित पञ्चेश्वर बहुउद्देश्यीय आयोजना तीन दशक बितिसक्दा पनि अघि बढ्न नसक्नु यसको उदाहरणका रूपमा प्रस्तुत गरिएको छ।

व्यापार र पूर्वाधारमा पनि नेपालका असन्तुष्टि छन्। भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। नेपाली कृषि तथा उत्पादित वस्तुलाई भारतीय बजारमा सहज पहुँच दिनुपर्ने नेपालको माग छ।

त्यस्तै, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक रूपमा सञ्चालन गर्न भारतको सहयोग र सहजीकरण अपेक्षित रहेको लेखमा उल्लेख छ।

लेखले शाहको भारत भ्रमणलाई पुराना विवाद समाधान गर्दै नयाँ सहकार्यको आधार तयार गर्ने अवसरका रूपमा लिएको छ। भ्रमणको सफलता कूटनीतिक भेटवार्ता र वक्तव्यमा नभई व्यापार, ऊर्जा, पूर्वाधार तथा पुनर्निर्माणका क्षेत्रमा हुने ठोस प्रगतिमा निर्भर रहने निष्कर्ष निकालिएको छ।

दुवै देशले समान साझेदारका रूपमा आपसी सम्मान र लाभमा आधारित सम्बन्ध अघि बढाउन सके मात्र नयाँ सुरुआत सार्थक हुने लेखमा उल्लेख छ।

पूर्वराजदूतहरूको सुझाव र विश्लेषण

यसैबीच, द इन्डियन एक्सप्रेसमा नेपालका लागि भारतीय पूर्वराजदूत नवीन श्रीवास्तवले ‘भारत र नेपालले विगतका उपलब्धि जोगाउँदै भविष्यको सम्बन्ध निर्माण गर्नुपर्ने’ शीर्षकमा लेख प्रकाशित गरेका छन्।

उनका अनुसार शाहको भ्रमणले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाली समकक्षीसँग प्रत्यक्ष संवाद गर्ने पहिलो अवसर दिनेछ। साथै, दुई देशको सम्बन्ध सुदृढ बनाउने मौका प्रदान गर्नेछ।

मार्चमा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भारी जितपछि शाहले आफ्नै नेतृत्वमा बहुमतको सरकार गठन गरेको र नयाँ सरकारले विकास, सेवा प्रवाह तथा महत्त्वाकाङ्क्षी आर्थिक वृद्धिलाई प्राथमिकता दिएको उनले उल्लेख गरेका छन्।

‘सरकारको आठ महिनाको कार्यकालमा केही क्षेत्रमा सुधार देखिए पनि आर्थिक वृद्धि, रोजगारी सिर्जना र अगस्टको अन्त्यमा आएको बाढीलगायत प्राकृतिक विपद् चुनौतीका रूपमा छन्,’ उनको विश्लेषण छ।

श्रीवास्तवले रास्वपा सभापति रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले र गृहमन्त्री सुधन गुरुङको भारत भ्रमणलाई पनि उल्लेख गरेका छन्। भारतले सुरुदेखि नै नयाँ सरकारसँग संवाद अघि बढाएको उनको भनाइ छ।

उनले सन् २०१४ मा प्रधानमन्त्रीका रूपमा नेपालको पहिलो भ्रमण गर्दा मोदीले प्रस्ताव गरेको ‘हाइवेज, इन्फोवेज र ट्रान्समिसन वेज’को अवधारणालाई दुई देशबीचको सहकार्यको आधारका रूपमा प्रस्तुत गरेका छन्।

भारत–नेपाल विद्युत् व्यापार सम्झौताले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्य राखेको उल्लेख गर्दै उनले अहिले नेपालले वर्षायाममा भारतलाई करिब एक हजार २०० मेगावाट विद्युत् निर्यात गरिरहेको बताएका छन्।

भारतीय सार्वजनिक क्षेत्रको सतलज जलविद्युत् निगमले अरुण–३ आयोजना निर्माण गरिरहेको र अन्य आयोजना पनि योजनाको चरणमा रहेको उनले उल्लेख गरेका छन्।

लेखमा सीमा विवादबारे पनि चर्चा गरिएको छ। पछिल्ला दुई वर्षमा दुवै देशले व्यावहारिक दृष्टिकोण अपनाउँदै नापी अधिकारी तथा सीमा कार्यदलका बैठक आयोजना गर्ने र सीमा स्तम्भ मर्मत गर्ने काम अघि बढाएको उनको भनाइ छ।

सन् २०२० का घटनाक्रमले थप जटिल बनाएको सीमा विवादको संवेदनशीलतालाई ध्यानमा राख्दै यस्ता प्रयासलाई निरन्तरता दिनुपर्ने उनको सुझाव छ।

‘संवेदनशील मुद्दाहरूको व्यावहारिक व्यवस्थापनसँगै दीर्घकालीन आर्थिक सहकार्य विस्तार गर्ने बलियो आधार निर्माण गर्नु नै भ्रमणको सफलता हुनेछ,’ उनले लेखेका छन्।

यसैगरी, डेक्कन हेराल्डमा नेपालका लागि भारतीय पूर्वराजदूत रञ्जित रेले ‘भारत–नेपाल सम्बन्धमा नयाँ सुरुआत आवश्यक, बालेन्द्र शाहको भ्रमण अवसर बन्न सक्ने’ शीर्षकमा लेख प्रकाशित गरेका छन्।

रेले दशकौँदेखि भ्रष्टाचारमुक्त सुशासन, राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि संघर्ष गरिरहेका नेपाली युवाका लागि पछिल्लो निर्वाचन आशाको अवसर बनेको उल्लेख गरेका छन्।

नयाँ नेतृत्वप्रति भारतले सुरुदेखि देखाएको सकारात्मक पहललाई निरन्तरता दिँदै दुई देशबीचको सम्बन्धमा नयाँ गति दिनुपर्ने उनको सुझाव छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij