तिहारको समयमा घरमा कोही नभएको मौका छोपी चोरी गर्ने कार्यमा संलग्न तीन जनासहित चोरीको सुन खरिद गर्ने र बेच्न सहयोग गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट चोरीका गरगहना तथा चोरीमा प्रयोग गरिएका औजारसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गत कात्तिक २४ गते राति करिब सवा १२ बजे ललितपुरको महालक्ष्मी नगरपालिका–५, टिकाथलीस्थित कोठा भाडामा लिएर बस्दै आएका प्रशान्त साह र तेजेन्द्र कुमार चौधरीको कोठाको ताला फोडेर सुनचाँदीका गरगहना, ल्यापटप तथा नगद चोरी भएको थियो ।
उक्त घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले कात्तिक २७ गते साँझ ५ बजे चोरीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा घरभित्र प्रवेश गरी चोरी गर्ने महोत्तरीको सोनमा गाउँपालिका–६ घर भई हाल कालिमाटी बस्ने ३३ वर्षीय प्रमोद कुमार यादव (बिटु), भारतको बिहारस्थित मोतिहारी घर भई हाल जडिबुटी बस्ने २० वर्षीय करन गिरी र समस्तीपुर घर भई हाल जडिबुटी बस्ने २७ वर्षीय गोकुल गिरी (स्टार) रहेका छन् ।
त्यस्तै, चोरीको सुन खरिद गर्ने सुनसरीको इनरुवा नगरपालिका–१ घर भई हाल कपन बस्ने २३ वर्षीय अनुराग सोनी साह तथा सुन बिक्री गर्न सहयोग गर्ने दोलखाको मेलुङ गाउँपालिका–२ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–हात्तिडाँडा बस्ने २१ वर्षीया अनिता चौधरी खड्का पनि पक्राउ परेका छन् ।
प्रहरीले उनीहरूको साथबाट एक थान सुनको लकेट, चाँदीजस्तो देखिने दुई थान औँठी, एक थान चाँदीको सिक्री र एक थान चाँदीको ब्रेसलेट बरामद गरेको छ । साथै, घरको ताला तथा ढोका फोड्न प्रयोग गरिएको एक थान फलामको रड र दुई थान काठका टुक्रासमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले पक्राउ परेका व्यक्तिहरूलाई बरामद सामानसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस