मोरङ । मोरङको रतुवामाईमा नेपाली र भारतीय नागरिक मिलेर जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। सुनसान घरमा सञ्चालित जुवाखालमा छापा मारेर प्रहरीले तीन नेपाली र चार भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो।
रतुवामाई नगरपालिका–७, कपर सुख्खा बोका टोलस्थित दिनेश सुतिहारको खाली घरमा जुवातास भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले छापा मारेको थियो।
सोमबार बिहान करिब ३ः३० बजे इन्स्पेक्टर कैलास लिम्बूको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–२ का ३३ वर्षीय अरुणकुमार गनगाई, ३२ वर्षीय उपेन्द्रप्रसाद गनगाई र रतुवामाई–७ का ४६ वर्षीय कपिल साह रहेका छन्।
त्यस्तै, भारतको किशनगन्ज जिल्लाका ३५ वर्षीय अजय सोनार, ३० वर्षीय सुरज शाह, २८ वर्षीय राजु सोनार र २२ वर्षीय सुरज मण्डल पक्राउ परेका छन्। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले पक्राउको पुष्टि गरेका छन्।
प्रहरीका अनुसार जुवाखालबाट नेपाली र भारतीय गरी कुल ३५ हजार २२० रुपैयाँ बरामद भएको छ। जसमा नेपाली रुपैयाँ १५ हजार ७०० र भारतीय रुपैयाँ १९ हजार ५२० रहेका छन्।
त्यसैगरी, प्रहरीले तीन बुङ तास, सातवटा मोबाइल र चारवटा मोटरसाइकल पनि बरामद गरेको छ। बरामद मोटरसाइकलमध्ये दुईवटा भारतीय र दुईवटा नेपाली नम्बर प्लेटका छन्।
प्रहरीले अरुणकुमार गनगाईको बीआर ३८ एआर ३२१३२, सुरज शाहको को १–०१–०१८ प १६४०, कपिल साहको को १–०२–०५३ प ८७६६ र राजु सोनारको बीआर ३७ एएल ४८९४ नम्बरका मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका सातै जनालाई इलाका प्रहरी कार्यालय सिजुवामा राखिएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको एसपी कटवालले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस