२०८३, मंसिर ११ गते

बिहिवार, मंसिर ११ गते २०८३

संविधान र कानुनको परिधिभित्र रहेर मात्रै विकास र सुशासन सम्भव : सभामुख अर्याल

आइतवार, कार्तिक ३० २०८३०२:००

सभामुख डोलप्रसाद अर्यालले संविधान र विद्यमान कानुनको परिधिभित्र रहेर मात्रै देशको विकास र सुशासनको प्रक्रिया अघि बढाउन सकिने बताएका छन् ।

बाराको सिमरामा आइतबार आयोजित छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै सभामुख अर्यालले संविधान तथा कानुनको उल्लंघन गरेर कुनै पनि काम गर्न नमिल्ने बताएका हुन् ।

देश लोकतान्त्रिक प्रणाली र कानुनी राज्यको अभ्यासमा रहेकाले विकासका काममा बाधा पुर्‍याउने पुराना तथा अनुपयुक्त कानुन संशोधन गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । उनले देशको समृद्धि, सुशासन र विकास निर्माणलाई दीर्घकालीन रूपमा अघि बढाउन आगामी ५० वर्षसम्म संशोधन गर्न नपर्ने खालका दूरदर्शी कानुन निर्माण गर्नुपर्नेमा जोड दिए ।

मधेसका आठ जिल्लामा तुलनात्मक रूपमा छिटो, सस्तो र सहज तरिकाले विकास गर्न सकिने सम्भावना भए पनि शिक्षा, स्वास्थ्य, सडक तथा सामाजिक विकासका क्षेत्रमा अपेक्षित प्रगति हुन नसकेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

विकास निर्माणका लागि स्थानीय सरकार सबैभन्दा जिम्मेवार र सक्रिय हुनुपर्ने बताउँदै सभामुख अर्यालले जायज माग पूरा नभएसम्म प्रदेश र संघीय सरकारसँग निरन्तर पहल तथा लबिङ गर्न सुझाव दिए ।

‘स्थानीय सरकार सबैभन्दा बलियो हुनुपर्छ । स्थानीय स्तरमा भएका समस्यालाई प्रदेश र संघसम्म निरन्तर पुर्‍याउनुपर्छ,’ उनले भने, ‘जबसम्म स्थानीय स्तरका माग पूरा हुँदैनन्, तबसम्म लबिङ गरिराख्नुपर्छ ।’

सभामुख अर्यालले सामाजिक सञ्जाल र मोबाइलको दुरुपयोगले समाजमा भ्रम, विकृति तथा दुर्घटना निम्त्याइरहेको भन्दै चिन्ता व्यक्त गरे । सरकारको निर्देशन र सुरक्षा निकायको नियन्त्रणले मात्रै यस्तो समस्या समाधान नहुने उल्लेख गर्दै उनले बालबालिकालाई सानै उमेरदेखि सही शिक्षा दिनुपर्ने र समाज आफैँ सचेत हुनुपर्ने बताए ।

मधेस हिमाल, पहाड र तराईबाट आएका नागरिकहरू मिलेर बसेको सुन्दर बगैँचाजस्तै रहेको चर्चा गर्दै उनले विविधताबीच सामाजिक सद्भाव कायम राख्न सबैले भूमिका खेल्नुपर्ने बताए । मधेसको शिक्षा, स्वास्थ्य, सामाजिक तथा भौतिक विकासका लागि कानुन निर्माणको तहबाट आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

छठ पर्वका अवसरमा बारा र पर्साका विभिन्न छठघाटको दर्शन तथा अवलोकन गर्न हेटौँडाबाट सडकमार्ग हुँदै सिमरा पुगेका सभामुख अर्यालले जीतपुरसिमरा उपमहानगरपालिका–४ स्थित नवनिर्मित श्रीकृष्ण मन्दिरको समेत अवलोकन गरेका थिए । सिमराको कार्यक्रम सम्पन्न गरी उनी वीरगन्जतर्फ प्रस्थान गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij