प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रकृति र आस्थाको महान् पर्व छठका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै सूर्यदेव र छठी माताको आराधनाले सबैमा सकारात्मक ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन्। साथै, देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने प्रेरणा मिलोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।
उनले छठ पर्व परिवारको सुख, शान्ति, आरोग्य तथा सन्तानको दीर्घायुको कामना गर्दै मनाइने महत्वपूर्ण पर्व भएको उल्लेख गरेका छन्।
छठ पर्वले जीवनको गहिरो दर्शन सिकाउने चर्चा गर्दै प्रधानमन्त्री शाहले उदाउँदो सूर्यलाई जस्तै अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिने परम्पराले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्न प्रेरित गर्ने बताएका छन्।
चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई र चौथो दिन उदाउँदो सूर्यलाई जलाशयको किनारमा अर्घ्य दिएर पूजाआजा गर्ने परम्परा छ।
सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले छठ पर्वले नेपाली समाजमा आपसी सद्भाव, एकता र सकारात्मक ऊर्जा अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्।
मैथिली भाषामा समेत शुभकामना दिँदै उनले भनेका छन्, ‘छैठके बहुत रास शुभकामना दीनानाथ आ छैठ परमेश्वरी सब के जीवन में सुख, शान्ति आ समृद्धि लइथिन से कामना करैछि।’
उनले भगवान् सूर्यदेव र छठी माताको कृपा सम्पूर्ण देशवासीमाथि सदैव रहिरहोस् भन्दै मंगलकामना गरेका छन्।
प्रतिक्रिया दिनुहोस