नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारका गलत तथा विधिविपरीतका कामको विरोध गर्न पार्टी पछि नहट्ने बताएका छन्।
धनुषामा आयोजित छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सरकारले डर र त्रास सिर्जना गरेर कांग्रेसलाई दबाउन खोजे पनि पार्टी नडराउने बताएका हुन्।
“जुन ढंगबाट सरकारले हामीलाई तर्साउन खोजिरहेको छ, कांग्रेस पार्टी यस्ता कुराले तर्सिंदैन,” पौडेलले भने।
उनले कांग्रेस सभापति गगनकुमार थापाले सरकारका गलत काम र विकृतिविरुद्ध निरन्तर आवाज उठाउँदै आएको बताए।
“यो देशमा यो सरकारले गरेका विकृतिका बारेमा कोही बोलेन। सबैका मुखमा बुजो लाग्यो। तर, कांग्रेसका सभापतिले सरकारले गरेका गलत कामका बारेमा बोल्न छाडेनन्,” पौडेलले भने।
विधिको शासन उल्लंघन गर्ने अधिकार कसैलाई पनि नभएको उनको भनाइ थियो। दुईतिहाइ बहुमतको सरकार भन्दैमा त्यसका कामको विरोध गर्न नपाइने वातावरण सिर्जना गर्न खोजिएको उनले आरोप लगाए।
“दुईतिहाइको बलमा उभिएको सरकारका विरुद्ध कसैले पनि बोल्न पाउँदैन भन्ने ढंगबाट यहाँ डर र त्रास सिर्जना गर्न खोजिँदै छ। अहिले हाम्रो पार्टीविरुद्धको व्यवहार यही हो,” पौडेलले भने।
प्रतिक्रिया दिनुहोस